04, May, 2024

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १४:२८ | ४ हफ्ता अगाडी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे संसद्‌मा विश्वासको मत लिने कार्यसूची थियो । त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले भने, ‘छलफलमा छु तर राजीनामा दिनुपर्ने हुन्छहोला । गठबन्धनका कारण बहुमत नपुग्ने भएपछि साथीहरूबाट पनि राजीनामा दिनुपर्ने आवाज आएको छ, सायद त्यस्तै हुन्छ होला ।’ उनले प्रदेशसभा बैठकमा विश्वास मतको प्रस्ताव नराखी सिधै सम्बोधन गरेर राजीनामा दिने बुझिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ। यहाँ कांग्रेसका २७ सांसद छन्। कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भए पनि विश्वास पाउनका लागि आवश्यक सांसद सङ्ख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन्।

सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीका लागि सहमति गरिसकेको छ। माओवादी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीका लागि उम्मेदवार छन् । रोल्पाबाट निर्वाचित महराले गठबन्धनको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिसकेका छन् ।

२२ चैत्र २०८०, बिहीबार १४:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading