वि.सं.२०८१ माघ २६ शनिवार

नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्ष आफूहरूले पाउने सहमति भइसकेको दाबी

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्ष आफूहरूले पाउने सहमति भइसकेको दाबी गरेको छ । राष्ट्रियसभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले गठबन्धनमा उपाध्यक्ष आफूहरूले पाउने सहमति भइसकेको बताए ।

उनका अनुसार उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउनेछ ।उनले भने, ‘हामीले पाउने गठबन्धनमा पहिल्यै सहमति भइसकेको हो । हामीले विमलाजीलाई उम्मेदवार बनाउने तयारी गरेका छौं ।’तर, उपाध्यक्षमा आफूहरूको दाबी कायमै रहेको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो दाबी हो । तर, अहिलेसम्म गठबन्धनको यो विषयमा थप छलफल भएको छैन ।’

उनले आफूहरूले पाए राष्ट्रियसभामा रहेका पार्टीका शीर्ष नेताहरूलाई नै प्राथमिकता दिने बताए । राष्ट्रियसभामा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी शाह पनि छन् । राई विधायन व्यवस्थापन समितिको सभापति भएकाले शाहलाई सार्नसक्ने चर्चा छ ।

सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर, नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिएपछि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो ।

Untitled