वि.सं.२०८३ वैशाख २१ सोमवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारीले गरे इलाम-२ का आकांक्षीहरूसँग छलफल

khanepani

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले इलाम क्षेत्र नम्बर २ मा पार्टीबाट उम्मेदवार आकांक्षीहरूसँग छलफल गरेका छन्।

उम्मेदवार सिफारिस भएकाहरूसँग सभापति देउवासहित पदाधिकारीले बूढानीलकण्ठमा बिहीबार बिहान छलफल गरेका हुन्।

इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।

उम्मेदवार सिफारिस भएकाहरूले सभापति देउवासहित पदाधिकारीलाई सर्वसम्मतिमै एक जनालाई उम्मेदवार बनाउन आग्रह गरेका छन्। पार्टी एकढिक्का रहे मात्र चुनाव जित्न सहज हुने उनीहरूको भनाइ थियो।

छलफलमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, किशोरसिंह राठौर, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे र कोशी सभापति उद्धव थापालगायत थिए।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने बताए।

बुधबारको बैठकमा सभापति इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका थिए। सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।

इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

बझाङ प्रदेश सभाका लागि देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति जनाएका छैनन्।

वडाध्यक्ष हारेकोले उनलाई उम्मेदवार दिन नहुने नेताहरूको मत छ। महामन्त्री थापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

ranechhap