12, Apr, 2024

लगानी भित्र्याउन कानुन संशोधनमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १२:०८ | १ हफ्ता अगाडी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।

लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् ।

‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ ।’

प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाह स्पष्ट, छिटो–छरितो गर्न निर्देशनसमेत दिए । ‘मन्त्रालय, विभाग, कार्यालयहरू परिणाममुखी हुनुपर्‍यो । सरकारी निकायको काम परिणाममुखी छन्, भन्ने विषय लगानीकर्ताले थाहा पाउनुपर्‍यो ।’

परम्परागत र सामान्य उपलब्धी दिने गरी काम गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बदलिंदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । ‘छोटो समयमा देशको द्रुत आर्थिक वृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुने गरी परिणाम दिनुपर्छ,’ प्रचण्डले भने, ‘यसका लागि सबैले अतिरिक्त पहलकदमी लिनुहाेस् ।’

सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्री प्रचण्डले सबै निकायले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने निर्णयलाई ध्यान दिन निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘परियोजनालाई प्रभाव पार्नसक्ने निर्णयहरू तथा कार्यान्वयनको पक्ष ढिलो भयो भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ, त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयमा अतिरिक्त जिम्मेवारी बोध गर्नुहोस् ।’

२२ चैत्र २०८०, बिहीबार १२:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading