12, Apr, 2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै,सरकार जोगिने सम्भावना

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार ०७:५२ | १ हफ्ता अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।

तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको कांग्रेसका एक सांसदले बताए । उनले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको जनाए ।

‘मुख्यमन्त्रीले विश्वासको मत पाउँछु भन्नुहुन्छ तर, हामीलाई नाउपा विवादले बहुमत पुग्न सहज हुन्छ जस्तो लाग्दैन’ ती सांसदले भने ‘विश्वासको मत नपाउने भए राजीनामा दिन सुझाव दिएका छौँ । ’

प्रदेशसभाको सबभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । नाउपाका ७ सांसद छन् ।

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।

कांग्रेसका सबै , नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

नाउपामा थप किचलो

आज मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् । यता नाउपामा त्यसले थप विवाद सृजना गरेको छ । मुख्यमन्त्री शाहलाई नाउपा सुदूरपश्चिम संसदीय दलले विश्वासको मत दिन चाहन्छ तर, केन्द्रले विश्वासको मत नदिन भन्दै निर्देशन दिएपछि पार्टीभित्र थप किचलो देखिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरूलाई निर्देशन दिएकी छन् ।

पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

यता नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेकी हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् । श्रेष्ठले पार्टी निर्देशन विपरीत गतिविधि गरेको भन्दै राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि कारबाही गरेकी छन् ।

२२ चैत्र २०८०, बिहीबार ०७:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading