18, May, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ फाल्गुन २०८०, सोमबार ०९:१२ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ।

केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

‘यसपटक धेरै कार्यसूची छैनन्। उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्नेछ। त्यस्तै, उपनिर्वाचनको तयारीका लागि पनि छलफल गनुपर्नेछ,’ महामन्त्री ढकालले भने।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ। यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ दल दर्ता गरेको थिएन।

प्रतिनिधि सभाको निर्वाचनका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ। यसअघि बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ।

त्यस्तै, फागुन १९ गते रास्वपाले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम भएको महामन्त्री ढकालले बताए। त्यही अनुसार जनजाति अनुहार नै उम्मेदवारकारूपमा छान्ने रास्वपाको तयारी छ।

निर्वाचन क्षेत्रमा पर्ने पालिकाअन्तर्गत् सोबिता गौतम इलाम नगरपालिका पुगेर आएकी थिइन्। गणेश पराजुली देउमाई नगरपालिका गएका थिए भने मनिष झा माई नगरपालिकामा अन्तर्क्रिरया गरेर फर्किएका थिए।

अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र असिम शाह फाकफोकथुम गाउँपालिका गएका थिए।

नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो।

चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ।

सत्ता समीकरणमा फेरबदल आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा गएको छ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधिमन्त्री छिन्। उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् भने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

पछिल्लो गठबन्धन र सरकारमा सहभागी भएकोबारे पनि केन्द्रीय कमिटीका छलफल हुने रास्वपाले बताएको छ।

२८ फाल्गुन २०८०, सोमबार ०९:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading