26, Apr, 2024

पर्यटन बोर्डद्वारा पनौतीको पर्यटन प्रवर्द्धन

Bagmati Voice
संवाददाता
२१ आश्विन २०७८, बिहीबार १७:०३ | २ साल अगाडी

काभ्रेपलाञ्चोक । नेपाल पर्यटन बोर्डले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको छ । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको छ ।

नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम-शृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ । यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ ।

पनौती–कमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम-महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी घरबास, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा-मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ । पनौती पर्यटन समितिको सक्रियतामा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

यसैबीच संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा बैज्ञानिक निकाय (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रे पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने जनाइएको छ । सूचीकृतको कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ ।

नगर प्रमुख भीमप्रसाद न्यौपानेले भने, “मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ ।” पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गतसाल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा उनले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको छ । ‘हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघ महिनाअगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ’, नगर प्रमुख न्यौपानेले भने । उनका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ ।

पनौतीलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।’मन्त्रिपरिषद्को निर्णयपछि युनेस्को फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ ।

हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिनसक्ने बताइन्छ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माणको काम धमाधम भइरहेको छ । नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, घरबास सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

युनेस्कोको नेपालस्थित कार्यालयले विसं २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । यसपछि सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताए । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भुनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तिर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ ।

२१ आश्विन २०७८, बिहीबार १७:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading