27, Apr, 2024

जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु

Bagmati Voice
संवाददाता
१७ असार २०७७, बुधबार १३:५९ | ३ साल अगाडी

सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

बुधबार बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन् । कैदीबन्दीले खरीद गर्न लगाएका सामग्री महंँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेकोलगायत विषयलाई लिएर कारागारभित्र नाराबाजी गरिएको जेलर बलबहादुर केसीले जानकारी दिए ।

“शान्ति सुरक्षाको कारण देखाउँदै जघन्य अपराधको सजाय भोगिरहेकामध्ये पाँच जनालाई दाङको तुलसीपुर सरुवाको प्रक्रिया अगाडि बढिरहेकाले जान नचाहने समूहले आन्दोलन शुरु गरेको हो,” जेलर केसीले भने। सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि सरुवा प्रक्रिया अगाडि बढाइएको जेलर केसीको भनाइ छ ।

छानबिन समितिले घटनाबारे प्रतिवेदन तयार पारेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि त्यसका आधारमा प्रक्रिया अगाडि बढाइने प्रमुख शिवराम पोखरेलले जानकारी दिनुभयो । हाल जिल्ला कारागार सल्यानमा ११३ कैदीबन्दी छन् । तीमध्ये ९३ पुरुष, १७ महिला र तीन नाबालक छन् ।

१७ असार २०७७, बुधबार १३:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading