26, Apr, 2024

दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु

Bagmati Voice
संवाददाता
१२ आश्विन २०७८, मंगलवार १४:१७ | २ साल अगाडी

काठमाडौं । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको छ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।

नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको जनाएको छ । कम्पनीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागिएको हो । जहाज पोखरा विमानस्थलमा नै राखिने भएको छ । यहाँ तारा एयरको १९ सिटे विमानले उडान गर्ने भएको छ ।

विगतमा ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान गरेको थियो । जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामध्ये ताराले पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ । तारा एयरसग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर जहाज छन् । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान गरिरहेको छ ।

१२ आश्विन २०७८, मंगलवार १४:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading