पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाएका छन् । प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा गरेको पूर्णप्रसाद,मायादेवी शान्ति पत्रकारिकता पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेबार रहेको दावी गरे ।
कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ, पौडेलले बताए, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’ उनले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा कांग्रेसले चाँडै ठोस निर्णय गरेर अन्त्य गर्नुपर्ने धारणा राखे ।
यो समय कांग्रेस ठोस निर्णयबिहीन र मौन बसे राष्ट्रको मूल राजनीतिमा भूमिका नदेखिने बताउँदै नेता पौडेलले बताए‘अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन, दायित्व पूरा गरेको ठहर्दैन । यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन ।
नेता पौडेलले आफूले सभापति देउवालाई फोन गरेरै ओलीइतर पक्षसँग गठबन्धन गरेर सरकार ढाल्न आग्रह गरेको तर, त्यो काम अहिलेसम्म सुरु नभएको बताए । उनले जनता समाजवादी पार्टी ९जसपा०लाई प्रधानमन्त्री ओलीले दिएको आश्वासन आफूहरुले पूरा गर्न सक्ने गरी गठबन्धन गर्न देउवालाई आग्रह गरेको सुनाए ।
सभापतिज्यूलाई फोन गरेर जनता समाजवादी पार्टीका नेताहरुलाई केपी ओलीले दिएको आश्वासन हामी पनि गर्छौं भनिदिऔं र उनीहरुलाई साथमा ल्याऔं, माओवादी केन्द्रलाई पनि साथ लिएर सरकार ढालौं भनेको हुँ, पौडेलले बताए ‘तर, अहिलेसम्म यो कुरा अघि बढेको थाहा छैन ।









































