वि.सं.२०८३ वैशाख २२ मंगलवार

थाइ एयरवेज नउड्दा चिठ्ठीपत्र र पार्सल ओसारपसार गर्न असहज

khanepani

काठमाडौं । कोरोना महामारीका कारण लामो समय विमानस्थलमा थन्किएका जहाज उड्न नसकेपछि थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन । यसको प्रभाव नेपालमा हुलाक सेवा विभागको नियमित सेवामा समेत परेको छ ।

चिठ्ठीपत्र र पार्सल ओसार(पसार गर्न विभागले सम्झौता गरेको कम्पनीले कोरोना महामारी सुरु भएयता सेवा नै दिएको छैन । नेपालमा ११ चैत २०७६ पछि बन्द भएको थाइ एयरवेजको उडान अहिले पनि सुरु हुन सकेको छैन ।

यो अवस्थामा आफ्नो सेवा नियमित राख्न नयाँ विकल्पको खोजी सुरु भएको हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिइन् । विभागले नेपालबाट संसारभर चिठ्ठीपत्र तथा पार्सल पठाउन थाइ एयर र भारतको एयर इन्डियासँग सम्झौता गरेको छ । यी दुबै एयरलाइन्स ती मुलुकका राष्ट्रिय ध्वजाबाहक हुन् ।

हामीले संसारमा सबैभन्दा फराकिलो उडान नेटवर्क भएको कम्पनी छानेरै थाइ एयरसँग सम्झौता गरेका थियौं,’ उनले भनिन्, ‘तर, कोरोना सुरु भएपछि थाइ एयरवेज नेपालमा आएन ।

उनका अनुसार अहिले एयर इन्डियाबाटै पार्सल तथा चिठ्ठीपत्र आदानप्रदानको काम भइरहेको छ । सामान्यतया वायुसेवा कम्पनीसँग सम्झौता भएपछि गन्तब्य मुलुकसँग सिधा उडान भए पनि नभएपनि चिठ्ठीपत्र र सामान गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी वायुसेवा कम्पनी कै हुन्छ । अहिले एयर इन्डियाले काठमाडौं नयाँ दिल्ली रुटमा नियमित उडान गरिरहेको छ ।

नेपालमा असोज २०७७ बाटै अन्तराष्ट्रिय उडानका कम्पनीमाथिको उडान प्रतिवन्ध फुकुवा भएको थिए । सोही अनुसार करिब एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान पुनः सुरु गरिसकेका छन् । तर, थाइ एयरवेजले भने पुनः सेवा थालेको छैन ।

कोरोना महामारी कम हुँदै गएपछि पनि नेपालमा उडान सुरु नगरेपछि विभागले सो कम्पनीसँगको सम्झौता पनि रद्द गर्ने प्रक्रिया थालेको हो । महानिर्देशक श्रेष्ठका अनुसार कम्पनीसँग पत्राचारको तयारी गरिएको छ ।

नियमअनुसार नै थाइ एयरवेजसँगको सम्झौता रद्द गरिने छ । त्यसपछि खुला आह्वान गरी एयरलाइन्सबाट प्रस्ताव माग गर्ने तयारी विभागले गरिरहेको उनले जानकारी दिइन् ।

नयाँ सम्झौतामा पुनः थाइ पनि आउन सक्यो,’ उनले भनिन्, ‘तर, उडान बन्द रहेको र खुल्ने निश्चित नभएको अवस्थामा हामी नयाँ सम्झौतामा जान्छौं । हुलाक सेवा विभाग र थाइ एयरबीच पुरानो सम्झौताको अवधि भने अझै एक वर्ष बाँकी रहेको छ ।

महानिर्देशक श्रेष्ठका अनुसार अहिले एयर इन्डियाले नेपालबाट चिठ्ठीपत्र तथा पार्सल ओसार(पसार गरिरहेका कारण हुलाक सेवा विभागको सेवा भने प्रभावित हुने छैन ।

एयर इन्डियाले अहिले गरिरहेको छ,’ उनले भनिन्, ‘थाइ एयर नआएमा फराकिलो नेटवर्क भएको अर्को कम्पनीसँग सम्झौता हुन्छ ।’ त्यसअगाडि नै नियमअनुसार थाई एयरसँग विभागले पत्राचार गर्ने उनको भनाइ छ ।

संसारमा सफल वायुसेवा कम्पनीको नाम लिँदा अग्रस्थानमा आउने थाई एयरवेज कोरोना भाइरसको महामारी सुरु हुनु अगाडि नै आर्थिक समस्यामा थिए । त्यसपछि संसारभर लागेको उडान प्रतिवन्धले यो कम्पनीलाई नराम्रोसँग थला पार्‍यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी भन्छन्, ‘सम्भवतः थाइ एयरले अब नेपालमा उडान गर्दैन ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिलेसम्म यो कम्पनीले नेपालमा उडान पुनः सूचारु गर्न निवेदन दिइसकेको छैन । काठमाडौं बैंकक रुटमा अहिले नेपाल वायुसेवा निगमले उडान गर्छ ।

ranechhap