16, May, 2024

९ करोड हिनामिना गरेर माछापुच्छ्रे सहकारी सञ्चालक भागे, बचतकर्ता आन्दोलनमा

Bagmati Voice
संवाददाता
२४ आश्विन २०८०, बुधबार ०८:५० | ७ महिना अगाडी

विराटनगर । विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा काम गर्नका लागि युएई जाने प्रक्रिया थाले । भिसा लागेपछि म्यानपावर कम्पनीले पैसा माग्यो । उनी सहकारीमा जम्मा गरेको पैसा फिर्ता लिन गए, तर सहकारीले दिएन । सहकारी सञ्चालक नै भागेपछि उनी विदेश पनि जान पाएनन् ।

साइकल मर्मत पसल सञ्चालन गर्दै आएका राजकुमार भगतले सहकारीमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् । छाक खटाएर जम्मा गरेको रकम फिर्ता नदिई सञ्चालक भागेपछि उनी के गर्ने भन्ने तनाबमा छन् ।

उनी जस्तै विराटनगर- ७ का अनिल ठाकुरले पनि पसलको सामान बिक्रीबाट आएको साढे तीन लाख रुपैयाँ सहकारीमा जम्मा गरेका थिए । सबै कारोबार सहकारीबाटै गर्दै आएका उनी सञ्चालक भागेपछि पैसा कसरी फिर्ता ल्याउने भन्ने तनाबमा छन् ।

उनीहरुजस्ता विराटनगरका पाँच सय बचतकर्ताको रकम माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले फिर्ता गरेको छैन । विराटनगरमा मात्रै होइन्, सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।

सुन्दरहरैचाबाट ५२ जना बचतकर्ताको ६० लाखभन्दा बढी रकम सहकारीमा डुबेको छ । ‘हामीले कलेक्टर छिमेकी भएका कारण बचत गर्यौं तर सेवा केन्द्र नै गैरकानुनी रहेछ,’ विराटचोकका भोजराज पोखरेलले भने, ‘अहिले सहकारीको बचत संकलक पनि भागेका छन् ।’

प्रहरीले लिएन उजुरी, छानबिन जारी

मंगलबार सहकारीबाट पीडित भएकाहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरे । सहकारी बचत फिर्ता नदिएपछि पीडित प्रहरी कार्यालय पुगे पनि प्रहरीले उजुरी नलिएपछि त्यसै फर्किएको बचतकर्ताको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले सहकारीको रकम हिनामिनाका विषयमा प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गरिरहेका कारण उजुरी नलिएको बताए ।

सहकारीको बचत फिर्ता गराउने विषयमा पटक-पटक छलफल भएको बताउँदै उनले छानबिन प्रतिवेदन आएपछि उजुरी लिएर कारवाही प्रक्रिया अघि बढाउने बताए । ‘सहकारीको हिनामिना प्रकरणको छानबिन भइरहेको छ, छानबिन प्रतिवेदन आएपछि बचतकर्ताको उजुरीलाई प्रहरीले लिन्छ,’ उनले भने, ‘सहकारीको बचत फिर्ता गराउन पटक-पटक छलफल भएको थियो, तर सञ्चालकले फिर्ता नगरेपछि प्रदेश रजिष्ट्रार कार्यालयले छानबिन गरिरहेको छ ।’

रजिष्ट्रार कार्यालयले यसअघि पनि छानबिन समिति गठन गरेको थियो । सहकारीको कार्यालय बन्द गरेर सञ्चालक सम्पर्क विहीन भएपछि कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

पदाधिकारीबाट ९ करोड भन्दा बढी रकम हिनामिना

समितिले अध्यक्ष अमलेश कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो ।

हिनामिना भएको रकमको आधा रकम सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको थियो । कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । समितिले कार्कीबाट सोही बराबरको रकम संकलन गर्न सुझाव दिएको थियो । कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सहकारीका अध्यक्ष अमलेश कर्णले एक करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ । सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

गत साउनमा गठित छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्योहोर्न सुझाव दिएको थियो । तर प्रभाकर थापा र अमित कार्कीले छानबिन समितिको प्रतिवेदन नमान्ने बताएपछि प्रदेश कार्यालयले छुट्टै छानबिन समिति बनाएको थियो ।

सहकारीले बचतकर्ताबाट उठाएको मध्ये एक करोड ५१ लाख १० हजार २३८ रुपैयाँ ऋण लगानी गरेको छ । सर्वसाधारणबाट संकलन भएको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ मध्ये ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँको अपारदर्शी रुपमा खर्च गरेको थियो ।

२४ आश्विन २०८०, बुधबार ०८:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading