वि.सं.२०८३ भदौ ११ बिहीवार

कालापानी सीमानामा व्याँस गाउँपालिका बैठक, चीनसँगको तिंकर नाका खुलाउन केन्द्र सरकारलाई आग्रह

khanepani

काठमाडौं । चीन र भारतसँग सीमा जोडिएको व्याँस गाउँपालिकाको कार्यपालिका बैठक अतिक्रमित भूमि कालापानी छेउमा सम्पन्न भएको छ ।

शनिवार व्याँस गाउँपालिका १ तिंकरगाउँमा कार्यपालिका बैठक बसेको हो । भारतको अतिक्रमणमा आफ्नो भूमि गुमाएका व्याँसले तिंकरमा कार्यपालिका बैठक डाँक्नुलाई अर्थपूर्ण मान्न सकिन्छ ।

यसअघि तिंकरमा कुनैपनि कार्यपालिका बैठक बसेको थिएन । त्यहाँ पुग्न भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ । गाडीमा करिब ७ घण्टा भारतीय बाटो पार गरेपछि ५ घण्टा पैदल हिँडेर मात्रै तिंकर पुग्न सकिन्छ । नेपाली बाटो प्रयोग गरेर जाँदा कम्तीमा पनि ५ दिन लाग्छ । जोखिम पनि उत्तिकै छ ।

बैठकले कोभिडपछि बन्द रहेको चीनसँगको तिंकर नाका खुलाउन पहल गर्न आग्रह गरेको छ । पालिका उपाध्यक्ष विनोदसिंह कुँवरले नाका खुलाउन केन्द्र सरकारलाई आग्रह गर्दै कौवा, तिंकर र बुदीमा बीओपी पोस्ट स्थापनाका लागि पनि आग्रह गरिएको बताए ।

यस्तै बुदीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि आग्रह गर्ने निर्णय भएको उनले बताए ।

तिंकरमा कार्यपालिका बैठक बस्न आफैमा ऐतिहासिक भएको र अब हरेक वडामा जनताकाबीचमा नै कार्यपालिका बैठक आह्वान हुने उनले बताए ।

यस्तै छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा पनि फहराइएको छ ।

त्यहाँ १५ फिट अग्लो स्तम्भ निर्माण भएको छ ।

कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।

ब्यास गाउँपालिकाको अध्यक्षसहित ४ वटा वडामा एमालेले जितेको छ भने उपाध्यक्ष माओवादी केन्द्र र एउटा वडाध्यक्ष नेपाली कांग्रेसले जितेका छन् ।

एक वर्षअघि भएको स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेस र माओवादीको गठबन्धनलाई एमालेले पराजित गरेको थियो ।

एमाले अध्यक्ष केपी ओलीले हस्तान्तरण गरेको चुच्चे नक्सा यसअघि नै यहाँ राखिएको छ ।

ranechhap