पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थिए । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम बदर गरिदिएपछि १५ गते अमरसिंह चौरमा गर्ने भनिएको आमसभा पनि स्थगित भए ।
आमसभा स्थगित गरेर ओली समूहले पोखरा सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निधो गर्यो । कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न ओली पोखरा आउने निधो भएपछि हतार, हतार प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रम राखियो ।
‘प्रदेश प्रशिक्षणको शिलान्यास गर्ने तीन दिन अघिमात्र जानकारी आएको हो,’ सहरी विकास तथा भवन कार्यालय प्रमुख महेन्द्र बानियाँले भने, ‘प्रतिष्ठानको भवन बनाउने प्रदेश सरकारको योजना पुरानै हो ।
पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा रहेकै प्रांगणमा प्रधानमन्त्री ओलीले प्रदेश प्रशिक्षण प्रतिष्ठान सोमबार दिउँसो शिलान्यास गरेका छन् । प्रतिष्ठानको केही समयअघिमात्र डिपिआर तयार भएको थिए ।
प्रधानमन्त्री पोखरा आउने भएपछि त्यही मौकामा शिलान्यास गर्ने गरी २, ३ दिन अघिमात्र कार्यक्रम तय गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री पोखरा आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास कार्यक्रम राख्न भनेका थिए । यसअघि मुख्यमन्त्री गुरुङले प्रदेश प्रशिक्षण प्रतिष्ठानको व्यवस्थित भवन बनाउने बताउँदै आएका थिए ।
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको प्रतिष्ठान निर्माण यो वर्षदेखि निर्माण सुरु भएको वहुवषर्ीय योजना हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही ढिला हुन सक्ने पाण्डेले बताए
३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँमात्र विनियोजन गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त सशर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको हो ।
‘बाँकी रकम अर्को वर्ष विनियोजन गर्ने गरी भवन निर्माणको शिलान्यास गरिएको हो, भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी डोलराज पराजुलीले भने ।
४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् ।
प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवं जनप्रतिनिधिको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने काम प्रतिष्ठानले गर्दै आएको छ ।
तत्कालीन नगर प्रशिक्षण केन्द्र भएकै ठाउँमा प्रदेश प्रशिक्षण प्रतिष्ठानको रुपमा विकास गरिएको हो । प्रदेश सरकारले प्रतिष्ठानको ०७५ फागुनमा ऐन बनाएको थिए त्यसको १ वर्षपछि ०७६ फागुन २८ गते प्रतिष्ठानको कार्यकारी निर्देशकमा ऋषिराम पाण्डेलाई नियुक्त गरिएको थिए ।
प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रतिष्ठान स्थापना भएको हो ।
प्रदेश सरकार र स्थनीय तहका नीति, योजना, प्राथमिकता र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने काम प्रतिष्ठानले गर्छ । प्रदेश सरकार तथा स्थानीय तहका सेवा प्रवाहमा सुधार र संस्थागत क्षमता अभिवृद्धिमा सहयोग गर्ने र नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अध्ययन, अनुसन्धान, बहस आदिको माध्यमबाट नयाँ ज्ञानको सिर्जना र भइरहेको ज्ञानका क्षेत्रमा योगदान गर्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको हो ।








































