
काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाओस् भनेर नागरिक तहबाट गरिएको खबरदारीप्रति खुसी व्यक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रबर्द्धन हुन सक्दैन भन्ने सरकारको बुझाइ रहेको बताएका हुन्।
अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा विषयक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका परिसूचकहरूले सकारात्मक बाटो समातेको दाबी गरे।
‘गत आर्थिक वर्षमा शोधनान्तर घाटा उच्च रहेको थियो भने विदेशी विनियम सञ्चिति न्यून स्तरमा झरेको थियो। सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको छ र विदेशी मुद्राको सञ्चिति पनि बढेको छ,’ उनले भने, ‘त्यसैगरी तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरूमा समेत सुधार आएको छ।’
प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको दोहोर्याए।
‘यस अघि भइआएका र गरिआएका कामको निरन्तरताबाट हामी अघि बढ्न सक्दैनौ भन्ने प्रष्ट छ। तसर्थ हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रूपान्तरणको आवश्यकता छ,’ उनले भने, ‘अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सबै सरोकारवालाहरुले समन्वयात्मक पहल गर्नुपर्दछ।’
कार्यक्रममै प्रधानमन्त्री प्रचण्डले व्यवस्था बदलिसकेकाले अब अवस्था बदल्न केन्द्रित रहनुपर्ने पनि बताए।
‘हामीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भएका छौं। तर त्यसै मुताविक जनताको आर्थिक–सामाजिक स्तरमा परिवर्तन हुन सकेको छैन’ उनको स्वीकारोक्ति थियो, ‘यसबाट आम–जनमानसमा एक प्रकारको निराशा र वितृष्णा पैदा भएको साँचो हो, जुन विभिन्न माध्यमहरूबाट प्रकट भइआएको हामीले देखेका र महसुस गरेका छौं। हामीले व्यवस्था त बदल्यौं, अब हामी अवस्था बदल्नमा केन्द्रित हुनुपर्छ।’