03, Oct, 2024

प्रधानमन्त्री प्रचण्ड विदेशीको इसारामा चल्दा सरकार छाड्यौं : राजेन्द्र लिङदेन

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०८०, सोमबार १५:५८ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ ।

सोमबारबाट सुरू केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको उनको भनाइ थियो ।

उनले मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गरे । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्णरूपमा खल्बलिन पुगेको लिङदेनको प्रतिवेदनमा उल्लेख छ ।

उनले भने, ‘प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन ।

आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भर्त्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा पनि लिनुपर्नेछ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्णरूपमा खल्बलिन पुगेको छ । नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक स्थलमा परिणत भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्शानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ ।’

अध्यक्ष लिङदेनले केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको दाबी गरे । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको लिङदेनको टिप्पणी छ ।

विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको उनको जिकिर थियो ।

उनले भने, ‘आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फस्दैछ । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त छ । कहिले पराधीन नभएको देशमा वाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेर गएको छ । भ्रष्टाचारको चंगुलमा देश फसेको छ ।

लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी छ । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने राप्रपाको ठहर देशमा विकसित घटनाक्रमले स्वतः प्रमाणित गरिदिएको छ । यस पटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोलचक्करमा परेपछि हामीले तत्त्काल सहकार्य छोडेका थियौँ ।’

१ जेष्ठ २०८०, सोमबार १५:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading