04, Oct, 2023

अमेरिकामा एकपछि अर्को बैंक डुब्दै, सबै रकम फिर्ता पाउन निक्षेपकर्ताले के गर्ने ?

बागमती भ्वाइस न्युजडेस्क
२२ बैशाख २०८०, शुक्रबार ०९:१५ | ५ महिना अगाडी

एजेन्सी । दुई महिनाको अवधिमा अमेरिकामा तीन बैंक टाट पल्टिएका छन् । प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक टाट पल्टिएको दुई महिनामै रिपब्लिक बैंक पनि टाट पल्टिएको हो ।

रिपब्लिक बैंकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारीनै बढी थिए । बैंकको ऋण चुक्तामा विरलै समस्या आउनेगर्थ्यो ।

तर बैंकको निक्षेप भने संघीय निक्षेप निगमले तोकेको सीमाभन्दा बढी थियो । निगमले २ लाख ५० हजार डलरको सीमा तोके पनि निक्षेपकर्तासँग त्यस सीमाभन्दा बढी रकम संकलन गरेको थियो । सीमाभन्दा माथिका रकम बिमीत रकम थिएनन् ।

बैंक टाट पल्टिएसँगै अब पैसा डुब्ने चिन्ता निक्षेपकर्ताहरूमा छ । उनीहरूले निगमको सीमाभन्दा बढी रकम राखेको स्थितिमा सबै रकम फिर्ता पाउने संभावना कमै हुन्छ । यद्यपि निक्षेप बिमा निगमका अनुसार रिपब्लिक बैंक टाट पल्टिएपनि निक्षेपकर्ताहरूले आफ्नो रकम भने प्राप्त गर्नेछन् ।

प्रविधि कम्पनीमा लगानी गर्दै आएका सिलिकन भ्याली र सिग्नेचर बैंकले पनि गत मार्चमा यस्तै स्थिति व्यहोरेका थिए ।

रिपब्लिक बैंकका सम्पूर्ण सम्पत्ति जेपी मोर्गन कर्पोरेशनले लिएको छ । यस कम्पनी बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । अब रिपब्लिक बैंकको ग्राहक अब जेपी मोर्गन कर्पोरेशनको हुनेछन् ।

निक्षेपकर्ताको रकम कत्तिको सुरक्षित

यदि निक्षेपकर्ताको रकम २ लाख ५० हजार वा त्यसभन्दा कम छ भने उनीहरूले सबै रकम फिर्ता पाउनेछन् । त्यस निक्षेप बिमित हुने भएकाले उनीहरूले सहजै पाउने स्थिति छ ।

अमेरिकाका सबै बैंकले निक्षेपको विमा गरेका हुन्छन् । संघीय निक्षेप बिमा निगमको संकेत हरेक बैंकमा देख्न सकिन्छ । त्यसैले २ लाख ५० हजारसम्मको रकम निगमलेनै निक्षेपकर्तालाइ चुक्ता गरिदिनेछ । त्यसभन्दा बढी कुनै पनि रकम फिर्ताका लागि निगम बाध्य हुनेछैन ।

यदि बैंकमा कसैको मुद्दतिमा पनि पैसा छ र साधरण बचत खातामा पनि रकम छ भने उनीहरूको पनि २ लाख ५० हजार बराबरकै रकम बिमित हुनेछ । यस्तो अवस्थामा निक्षेपकर्ताले २ लाख ५० हजार डलर बरारबरको रकमको भुक्तानी मात्रै निक्षेपकर्ताले पाउनेछन् ।

निक्षेपकर्तालाई कस्ता छन् खतरा?

अमेरिकामा कुनै पनि बैंक टाट पल्टिने नजिक पुगेको अवस्था थाहापाउन निक्षेपकर्ताले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । उनीहरूले बैंकको स्टक मुल्य, बैंकको त्रैमासिक तथा वार्षिक प्रतिवेदनलाइ निक्षेपकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । बैंकको नयाँ विषय थाहा पाउन गुगल अलर्टमा हेरिरहनुपर्नेछ । बैंकको संस्थागत व्यवहारप्रति निक्षेपकर्ता चनाखो रहनुपर्नेहुन्छ ।

सार्वजनिक तथा निजी कम्पनीहरुले विभिन्न प्रयोजनका लागि सेयर बेच्ने वा जारी गर्ने भएकाले त्यसको सन्दर्भ थाहापाउन जरूरी छ । उदाहरणका लागि रिपब्लिक बैंकले पनि यस वर्ष सेयर विक्री गरेको थियो । लगानीकर्ताहरूले बैंक खतरामा रहेको संकेत पाएका थिए । एकपछि अर्को गर्दै क्रमश लगानीकर्ताहरू बैंकबाट लाखपाखा लागे । धेरै निक्षेपकर्ताहरूले आफ्नो रकम झिके अन्तत बैंकनै टाट पल्टियो ।

आफ्नो रकम सुरक्षित गर्नका लागि निक्षेपकर्तालाइ केही उपाय पनि छ । यदि २ लाख ५० हजार डलरभन्दा बढी रकम रहेको अवस्थामा उनीहरूले संयुक्त खाता खोलर पाँच लाख डलरसम्मको रकम संघीय निक्षेप निगमबाट बिमित गराउन सक्ने वित्तीय विद् ग्रेग ब्राइडको भनाइ छ । ‘विवाहितहरूले १० लाख डलरसम्मको नगद संयुक्त खाता खोलेर रकम बिमित गराउन सक्नेछन्,’ ग्रेगले भने ।

यस्तै निक्षेपकर्तालाइ बैंकको अवस्थामा शंकास्पद लागेको खण्डमा अन्य वित्तिय संस्था पनि रकम सार्नसक्नेछन् । एउटा बैंकमा २ लाख ५० हजार डलरभन्दा बढी रकम रहेको अवस्थामा बढी रकम अन्यत्र सारेर त्यहाँ पनि निक्षेप बिमा गर्ने सुविधा निक्षेपकर्तालाइ छ ।

वित्तीय विद्हरूले निक्षेपकर्तालाइ बैंक तथा वित्तीय संस्थाबाट रकम झिकेर घरमा नराख्न सुझाएका छन् । घरमा भन्दा बैंक तथा वित्तीय संस्थामानै रकम सुरक्षित हुने उनीहरूको भनाइ छ । निक्षेप सुरक्षका लागि संस्था सारेर २ लाख ५० हजारको सीमामा बिमा गर्न उनीहरू सुझाउँछन् ।

कस्ता रकम निगमले वीमा गर्दैन ?

संघीय निक्षेप बिमा निगमले बैंक टाट पल्टिएको केही दिनभित्रै रकम फिर्ता गरेको इतिहास छ । निक्षेपकर्ताको रकम अर्को संस्थाको खातामा वा खाता नभएको अवस्थामा चेकमार्फत निगमले भुक्तानी दिन्छ । निगमले दिने भुक्तानीको विभिन्न नियम छन् । कस्ता पैसा भुक्तानी दिने वा कस्ता लगानीमा रकम नदिने भन्ने निर्क्यौल निगमले गर्नेछ । निगमले प्रति वित्तीय संस्थामा कति रकम बिमित छन् भन्ने कुरा विद्युतीय निक्षेप बिमा अनुमानक प्रणालीबाट थाहापाउँछ । निगमले निकासी खाता, बचत खाता तथा मुद्रा बजार निक्षेप खाता जस्ता खाताहरूमा हुने रकमको बिमा स्वीकार गर्छ । स्टकमा गरिएको लगानी, म्युचल फण्ड, बोन्ड, जीवन विमा, क्रिप्टोबाट आर्जित रकमलगायतमा उसले बिमा गर्दैन ।

२२ बैशाख २०८०, शुक्रबार ०९:१५ मा प्रकाशित