24, Jun, 2024

लुम्बिनीमा बुद्धजयन्तीको रमझम, विश्व शान्तिको कामनासहित हजारौं सहभागी

Bagmati Voice
संवाददाता
२२ बैशाख २०८०, शुक्रबार ०९:४३ | १ साल अगाडी

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । लुम्बिनी तथा आसपासका क्षेत्रमा विशेष कार्यक्रम गरिएको छ । शुक्रबार बिहानै शान्तिर्‍याली निकालिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर वृहत कार्यक्रमको आयोजना गरेको हो । यसका लागि लुम्बिनीलाई सिँगारपेटार गरेर चिटिक्क बनाइएको छ ।

समारोहलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले जानकारी दिए । औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिएको छ ।

बिशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, कुटनीतिक नियोग, विदेशी पाहुनाहरूको उल्लेख्य सहभागिता छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले मायादेवी परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि राति १२ बजेसम्म महापरित्राण पाठ गरिएको बताए । यस्तै बुद्ध पुर्णिमाको अवसरमा अवदेखि लुम्बिनी परिसमा चल्ने सवारीसाधनलाई हर्न निषेध गरिएको छ ।

बुद्धको अस्तु धातु रहेको रामग्रामममा शुक्रबार पण्डितपुरदेखि रामग्रामसम्म पर्यटन, संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली प्रमुख आतिथ्यतामा ‘अस्तुधातु यात्रा’ गरिने जनाइएको छ । बुद्धको मावली देवदहमा बैशाख १९ गते बौद्धधर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुुत्त र तीन बौद्ध नारी विभूति/परिचर्चा प्रवचन एवम् बुद्धजयन्ती दिवस समारोह गरिएको छ ।

यस्तै मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतीकको रूपमा भोलि मायाँदेवी शोभायात्रा राखिएको छ । उक्त कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

कोषले यो वर्षदेखि भगवान् बुद्धको महत्व दर्शाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न अपील गरेको छ ।

यसका साथै दिवसका अवसरमा पारेर ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाइ अभियान २०८० सुरूवात गरिएको छ गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनाका कामहरु निर्माणाधीन रहेको बताए । लुम्बिनी विकास कोषका जनसम्पर्क तथा सूचना प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको बताए । कार्यक्रममा विदेशबाट समेत पाहुनाहरुको उपस्थिति रहने प्रशासन प्रमुख ज्ञानिन राईले जानकारी दिए । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्धजयन्ती भव्य रुपमा मनाइएको थियो ।

लुम्बिनी दिवसलाई मनाउन लुम्बिनी बौद्ध विश्व विद्यालयले पनि विशेष कार्यक्रम गर्न लागेको रजिष्टार डा. तिलकराम आचार्यले बताए । परिसंवाद, दीप प्रज्वललन, पूजापाठसहितका कार्यक्रम राखिएको उनले बताए ।

लुम्बिनीको इतिहास

भगवान शाक्यमुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । यस बर्षको शुक्लपूर्णिमाको दिनलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय लुम्बिनी विकास कोषले बिशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तरगत, मुल व्यवस्थापन समिती र विभिन्न उपसमितिहरु गठन गरी तयारी गरिएको थियो ।

शाक्यमुनी बुद्ध ई.पू.६२३ मा लुम्बिनीको उनले जन्मने बित्तिकै सात पाइला हिँड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तीर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरू समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक साक्षहरूले शताब्दिऔदेखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तीर्थाटन गरेका तथ्यहरू उजागर गर्दछन् ।

प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ई.पू. २४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले “हिद बुधे जाते शाक्यमुनिति“ (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक स्तम्भका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनुभएको सही अवस्थिति चिनाउने स्मारकशिलाको पूजा गरी जन्मेपछि वहाँलाई शुद्धिकरणका लागि नुहाईएको पवित्र पोखरी पुष्करिणीको दर्शन गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरूको भ्रमणसमेत गरे ।

प्राप्त ऐतिहासिक तथ्यहरूका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्ने चिनियाँ यात्रीहरूमा त्सेङ साई, फाहियान र हुयेन साङ्ग थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौं शताब्दीमा र हुयेन साङ्गले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी मध्ये हुयेन साङ्गको यात्रा विवरणले लुम्बिनीको बारेमा विस्तृत रुपमा व्याख्या गरेको छ । उनले लुम्बिनीमा जन्मबृक्षको ठुटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चीसो र तातो पानीका श्रोतहरू भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा ‘ॐ मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु’ भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी ओझेलमा रहन पुग्यो ।

पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरि चासो र सरोकारको विषय बन्यो ।

सन् १८९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा प्रा. केन्जो टांगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारित भयो । त्यस अगाडी नै नेपाल सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरूको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरूको निर्माण र वृक्षारोपण जस्ता कार्यहरू गन्यो। सन् १९८५ पछि भने लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरू निर्माण गर्न क्रियाशील रहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरूमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरले जोडिएको छ । ती ३ क्षेत्रहरू (क) पवित्र उद्यान (ख) विहार क्षेत्र (ग) नयाँ लुम्बिनी ग्राम हुन् ।

सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र संग्रहालय अवस्थित छन् जसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरूलाई सुविधा पुग्दछ । गुरुयोजना क्षेत्रको उत्तरी भाग नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ यात्रु तथा पर्यटकहरूले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन् । यस क्षेत्रमा दुर्लभ पंक्षी सारस आरक्ष केन्द्र पनि स्थापना गरिएको छ ।

प्रा. केन्जो टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो । यस क्षेत्रको डिजाइको प्रमुख उद्देश्य आध्यत्मिकता, शान्ति, विश्व भ्रातृत्व र अहिंसा झल्कने वातावरणको सृजना गर्नुका साथै संसारका लागि भगवान बुद्धको सन्देश प्रतिबिम्बित गर्नु हो । पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू अवस्थित छन् बगैंचा र सुन्दर पोखरीहरूले यस क्षेत्रलाई अत्यन्त मनमोहक बनाएका छन् । विहार क्षेत्रलाई केन्द्रिय नहरले दुई भागमा विभाजित गरेको छ । पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरू थेरवादीहरूका लागि र पश्चिम विहार क्षेत्रमा २९ वटा प्लटहरू महायानी बौद्धमार्गीहरूका लागि छुट्याइएको छ ।

२२ बैशाख २०८०, शुक्रबार ०९:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading