काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा नकारात्मक कुराको प्रचार हाबी भएको बताएका छन् । बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनमिक समिट-२०२३’ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हरेक चिज अँध्यारोमात्र देख्ने प्रवृत्ति हाबी भएको बताएका हुन् ।
हरेक कुरामा नकारात्मकताको मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पार्ने पनि उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘हामीकहाँ अलि बढी नकारात्मकताको वृद्धि हुने, हरेक चिज अँध्यारो मात्रै देख्ने प्रवृत्ति हाबी हुने हो कि भन्ने प्रश्न खडा भएको छ । सकारात्मक कुरा नदेख्ने प्रवृत्ति हाबी भएको छ । यसले राष्ट्रलाई, जनताको मनोबल, आत्मबल र विश्वासलाई कमजोर पार्ने र निकै ठूलो दुर्घटनातिर जाने खतरा हुन्छ ।’
विश्वका केही देशको उदाहरण दिँदै प्रधानमन्त्री दाहालले अगाडि भने, ‘हामीले विश्वका धेरै देशहरू देखेका छौँ जहाँ अहिले निकै ठूलो संकटको स्थिति छ, युद्धको स्थिति छ । अफगानिस्तानको कुरा गरौँ वा अहिलेको युक्रेनको कुरा गरौँ । हामी सबैले यो विषयलाई गम्भीरतापूर्वक विचार गर्नु जरुरी छ ।’
प्रधानमन्त्री दाहालले नकारात्मकताको प्रचारले समाज र राष्ट्रलाई एकताबद्ध र उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित नगर्ने पनि बताए । उनले भने, ‘चाहिनेभन्दा बढी नकारात्मकताको प्रचारले समाज र राष्ट्रलाई एकताबद्ध र उच्च मनोबलको साथ अगाडि बढ्न उत्प्रेरित गर्दैन । बरु कहीँ न कहीँ त्यसले देशलाई अप्ठ्यारोतिर लैजान्छ कि भन्ने कुरा पनि हामीले सोच्न जरुरी छ।’
पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, ‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’
प्रधानमन्त्री दाहालले कतै नेपाल शक्तिराष्ट्रहरूको शक्ति सन्तुलन र प्रतिस्पर्धाको सिकारमा त छैन भनेर प्रश्नसमेत गरे । उनले भने, ‘कहीँ हामी निकै ठूलो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र शक्ति प्रतिस्पर्धाको अपठ्यारोको सिकार त हुँदैछैनौ ? हामी सबैले गम्भीरतापूर्वक सोच्नु जरुरी छ । त्यसमा पनि जिम्मेवार नागरिक र बुद्धिजीवीहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता छ ।’









































