वि.सं.२०८३ वैशाख १७ बिहीवार

आयोग नै चुनावको पक्षमा नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको आरोप

khanepani

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण अब वैशाखमा चुनाव हुन नसक्ने बताए । आयोगले नेकपाको विवाद समाधानमा चासो नै नदेखाएको र नेकपाको विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने उनको भनाइ थिए।

मुलुकको आवश्यकताका लागि फास्ट ट्रयाकबाट राजनीतिक दल सम्बन्धी ऐन, नियम र यसअघिका नजिरका आधारमा निर्णय गर्न आयोगलाई कुनै कठिनाइ नभए पनि आयोग अग्रसर नहुँदा आयोगमाथि अनेक टिप्पणी भइरहेको यादवको भनाइ छ । आयोगमा उपलब्ध नेकपाका ४४१ सदस्सीय केन्द्रीय कमिटीको बहुमतका आधारमा आयोगले विवाद निरुपण गर्न कुनै समस्या नहुने यादवले बताए ।

विवाद गरिरहेका दलहरुले दाबी गर्दासम्म चुनाव चिन्ह, दलको नाम, झण्डा फ्रिज गर्न नपाउने र आयोगलाई त्यो अधिकार नै नभएको यादवको भनाइ छ ।

अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रति इंगित गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले अहिलेको राजनीतिक संस्कार अनुसार जसको आडभरोसामा संस्थाको प्रमुख भए पनि त्यो व्यक्ति संस्थाप्रति उत्तरदायी र जिम्मेवार हुनु पर्ने अन्यथा त्यसको भागीदार स्वंयम हुनु पर्ने उनको भनाइ छ । आयोग र त्यसको नेतृत्वकर्ता थपलियालाई कुनै दल वा व्यक्तिको प्रभावमा नपर्न पनि यादवले आग्रह गरेका छन् ।

पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भेटेरै आयोगलाई जिम्मेवार भएर निर्णय गर्न आग्रह गरे पनि त्यो हुन नसकेको उनको भनाइ छ । नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने र भइहालेमा पनि त्यसले समस्या समाधान नगर्ने र मुलुकलाई थप अध्यारोतर्फ लैजाने यादवको तर्क छ ।

अहिलेको विवाद सर्वोच्चमा रहेको र अदालतले संसद पुनर्स्थापना गरे पनि नेकपा विभाजनको अवस्थामा रहेकाले आयोगले निर्णय गर्नै पर्ने उनले बताए । पुनर्स्थापनापछि संसदमा प्रतिपक्षी र सत्तापक्ष कता बस्ने भन्नका लागि पनि आयोगले निर्णय गर्नै पर्ने डा यादवको भनाइ छ ।

यादवसँग २०६४ र ७० को संविधान सभा चुनाव गराएको अनुभव छ भने ०७४ सालको चुनाव उनकै नेतृत्वमा भएको थिए ।

ranechhap