चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसद् पुन स्थापना नभए देश अराजकताको भुमरीमा फस्ने बताएका छन् । अहिलेकै स्थिति चुनाव भए देशमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको भनाइ छ ।
भरतपुरमा मंगलबार निर्माणाधीन सिटी हल निरीक्षणपछि पुष्पकमल दाहाल ।
‘संसद् पुन स्थापना हुन्छ । भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ,’ चितवनमा रहेका उनले मंगलबार बिहान पत्रकारहरूसँग भने, ‘यस्तो भए नेपाली जनता चुप लागेर बस्दैन । कतै न कतैबाट आन्दोलनमा जान्छ ।’
दाहालले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको पनि बताए । ‘यो भ्रम कसैलाई नपरोस्, प्रचण्डले यो संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन हैन,’ उनले भने । अहिलेको संकट समाधान गर्न प्रतिपक्ष पार्टीहरूसहित संयुक्त आन्दोलन गर्ने प्रयास भइरहेको दाहालले सुनाए । ‘मैले शेरबहादुरजी, रामचन्द्र जी र जसपाका नेताहरूसँग कुरा गरिराखेकै छु । संयुक्त आन्दोलन भए चाँडो छिनोफानो हुन्छ,’ उनले बताए।
निर्वाचन आयोगले सूर्य चिह्न कसैलाई नदिने गरेर ‘फ्रिज’ गर्न नपाउने दाहालले बताए । आयोगले पार्टीको बहुमतलाई मान्यता दिने उनको भनाइ छ ।









































