काठमाडौँ । ‘माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा राष्ट्रपति र सभामुख एमालेलाई अनि प्रधानमन्त्री माओवादीलाई भनेर बाँडफाँट पहिल्यै टुंगिसकेको छ । अहिले कांग्रेसलाई पनि समेटेर लैजाने प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई अन्यथा लिइहाल्नु पर्दैन । किनभने, उपराष्ट्रपति र उपसभामुख बाँकी छ । यदि उहाँले आफूलाई यत्तिकै मत दिने कांग्रेसलाई ‘राष्ट्रिय सहमतिका लागि’ त्यसमा राजी गराउनुभयो भने नराम्रो के छ र ?’
प्रतिनिधि सभाको उपसभामुख निर्वाचन अघि एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेको स्टाट्स हो यो । अहिले उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी इन्दिरा राना मगर निर्वाचित भइसकेकी छन् ।
अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बाँकी छ । रिजालको भनाइलाई नै आधार मान्ने हो भने राष्ट्रपति एमालेलाई दिने सहमति प्रधानमन्त्री बन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
तर प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्डले राष्ट्रपतिका विषयमा अहिलेसम्म मुख खोलेका छैनन । एमाले अध्यक्ष केपी ओलीले भने एमालेले उम्मेदवार उठाउने र त्यही उम्मेदवारलाई कांग्रेसले मत दिए स्वतः राष्ट्रिय सहमति निर्माण हुने सिधा जवाफ प्रधानमन्त्रीतिरै फर्काउने गरी दिन छोडेका छैनन ।
प्रधानमन्त्रीले ३ माघमा आफुलाई संसदमा विश्वासको मत दिने दलहरुको बालुवाटारमा राखेको सर्वदीय बैठकमा आफू राष्ट्रिय सहमतिको सहजकर्ता बन्न चाहेको बताएपछि ओलीले पनि कांग्रेसले एमालेका राष्ट्रपतिका उम्मेदवारलाई मत दिए राष्ट्रिय सहमति हुने बताएका थिए ।
केही दिन अगाडी संसद भवनबाट बाहिरिँदा सञ्चारकर्मीसँगको सम्क्षिप्त कुराकानीमा पनि ओलीले त्यही बाक्य दोहोराउँदैं भनेका थिए–‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा नेपाली कांग्रेसले समर्थन ग¥यो भने राष्ट्रिय सहमति हुन्छ । त्यही हो राष्ट्रिय सहमति भनेकै ।’
सत्ता बागडोर मुखैमा आईसक्दा गुमाउन पुगेको कांग्रेसलाई भने अझै राष्ट्रपतिमा आफनो उम्मेदवार जितिहाल्छन् की भन्ने आश छ । त्यसैका लागि उसले माओवादी अध्यक्ष प्रचण्डलाई संसदमा विश्वासको मत दिएर ओलीकै भाषामा भन्ने हो भने ‘ढोक्सा’ थापेको छ । अहिलेको सत्ता गठबन्धन तोडाउन कांग्रेसका नेताहरु अहिले पनि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री र उनका पार्टीका प्रभावशाली नेताहरुसँगको बाक्लो सम्वादमै छन् ।
सत्ता गठबन्धनलाई फुटाउन नसके जित्न नसक्ने निश्चित रहेको कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पदाधिकारी बैठकबाट गत सोमबार नै लिईसकेको छ । राष्ट्रपतिको उम्मेदवार बन्न नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लागिरहेका छन् । १५ माघका लागि आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि राष्ट्रपति निर्वाचन अगाडि नगर्ने अनौपचारिक सहमति पार्टीभित्र छ ।
राष्ट्रपति निर्वाचनमा ‘निर्णायक’ मानिएको माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले आफु राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने बताइरहनु, विपक्षी कांग्रेसले माओवादीका नेताहरुसँग हिमचिम र भेटघाट बढाइरहँदा पनि प्रचण्डलाई प्रधानमन्त्री दिँदा राष्ट्रपति लिने समझदारी गरेको एमालले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार को भन्ने निधो गरेको छैन ।
पार्टीभित्र आफनो एक्लो निर्णयलाई पार्टी निर्णय बनाउँदैं आएका ओलीले यसबारेमा एकरत्ति पनि मुख खोलेका छैनन । ओलीको दिमागमा भावी राष्ट्रपतिका उम्मेदवार को बनाउने भनी कोरिएको चित्र ओलीले ‘राजनीतिको क्यानभास’ मा देखाईसकेका छैनन ।
न त उनले आफैले प्रधानमन्त्री बनाएका प्रचण्डसँग नै पात्रका बारेमा छलफल गरेका छन् । ओली र प्रचण्डका बीचमा सम्बाद बाक्लो त छ, तर दुई नेताबीचको आपसी अविश्वास मेटने र अन्य राजनीतिक मुद्दामा छलफल भएपनि एमालेले उठाउने राष्ट्रपति उम्मेदवारका विषयमा कुनै छलफल भएको छैन ।
सभामुख एमाले, राष्ट्रपति एमाले हुँदा र त्यसमा पनि एमाले अध्यक्ष केपी ओलीका अति विश्वासपात्र नेताहरु आउँदा प्रधानमन्त्री प्रचण्डले बीचमा बसेर कसरी कार्यकारी अधिकारको डाडुपन्यू चलाउन पाउँलान् ? भन्ने प्रश्न र आशंका स्वयम माओवादीकै नेता कार्यकर्तामा उठिरहेका बेला देशको अभिभावकिय जिम्मेवारीमा जान चाहने राष्ट्रपतिका उम्मेदवारका विषयमा सत्ता गठबन्धनका मुख्य दुई घटकका शीर्ष नेतामा सामान्य भएपनि छलफल चल्नुपर्ने हो । तर ओलीले पात्रका बारेमा प्रधानमन्त्रीसँगै कुनै चर्चासमेत गरेका छैनन ।
‘ओलीजीले एमालेबाट राष्ट्रपति कसलाई प्रस्ताव गरेर उम्मेदवार बनाउँलान् भन्नेबारेमा प्रधानमन्त्रीसँग अहिलेसम्म मुखै खोल्नुभएको छैन । बिहिबार पनि दुई नेताका बीचमा बालुवाटारमा छलफल भएको छ, अरु राजनीति, राष्ट्रपति चुनाव लगायतका विषयमा छलफल त छ, तर पात्र को भन्ने बारेमा कुनै प्रसंग र छलफल नै ओलीले उप्काउनु भएको छैन,’ माओवादी केन्द्रका एक पदाधिकारीले मेरोन्यूजसँग भने,–‘दुई शीर्ष नेताहरुका बीचमा आपसी विश्वासको वातावरण बनाउने हो भने राष्ट्रपतिका सम्भावित उम्मेदवारको बारेमा छलफल पारम्भ भईसक्नुपर्दथ्यो । तर ओलीले मुख खोल्नुभएको छैन ।’
ओलीले पात्रको बारेमा मुख नखोलेझै त्यही बुझेर प्रचण्डले पनि आफु राष्ट्रिय सहमतिको सहजकर्ता मात्र बन्ने कोसिसमा रहेको भन्दै मुख खोलेका छैनन । जसकाकारण राष्ट्रपतिको चुनाव सन्निकट रहँदा पनि को बन्ला , कुन पार्टीका बन्लान् या स्वतन्त्र बन्नलान् भन्ने अन्यौल कायमै छ ।
‘एमालेले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नु त परैको कुरा भयो, छलफलसमेत चलाएको छैन । संविधान र निर्वाचन आयोग नियमावलीअनुसार गर्ने हो भने १७ दिनमा (२९ माघभित्र) राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्छ भनेको छ, तर संविधानमा फेरि राष्ट्रपतिको पदावधी ५ वर्ष हुने र निर्वाचित भएको समयबाटै पदावधी गणना हुने उल्लेख छ, यस्ता विषयमा समेत अहिले एमालेले छलफल गर्न चाहेको देखिएको छैन,’ माओवादीका ती पदाधिकारी भन्छन् ।
एमालेले पूर्वसहमति अनुसार आफूले राष्ट्रपति पाउनु पर्ने मात्रै बताइरहँदा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रिय सहमति भनिरहेका छन् । राष्ट्रिय सहमति भनेको अरु पद सकिएको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति हो । प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले उपराष्ट्रपतिमा चित्त बुझाउने कुरा भएन ।
एमालेका नेताहरूका अनुसार एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेताहरु गुरु बराल, डोरमणि पौडेल, गोमा देवकोटा, गोपाल गुरागाईलगायत आकांक्षी छन् ।
ओलीले आफुलाई विश्वास लागेको पात्रलाई मात्रै उम्मेदवार बनाउने भित्री तयारी देखिन्छ । त्यसो हुँदा उनले आफनो स्वविवेकी अधिकार प्रयोग गर्न सक्ने नेता भन्दा आफनो लागि ‘एसम्यान’ ओलीले राष्ट्रपतिको उम्मेदवार चयन गर्दा रोज्नसक्ने आशंका राजनीतिक बृतमा छ ।
त्यसो हुँदा ओलीको नजर युवराज ज्ञवाली, गोमा देवकोटा, थममाया थापा, डोरमणि पौडेल, विष्णु रिमाल लगायतका नेताहरुमा पर्नसक्छन् । ज्ञवाली अहिले ओलीका भित्रियाका रुपमा छन् । ओलीले कँही कतै लिखित मन्तब्य अहिले दिएभने त्यसको डाफ्ट ज्ञवालीले तयार पार्ने गरेको एमाले स्रोतको भनाई छ । तर यसमध्येमा पनि ओलीले गोमालाई अगाडी सार्नसक्ने पनि एमालेकै केही नेताहरु बताउँछन् ।
पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी घोषणा गर्दा आफ्नो नाम कतै नआएको बताएकी देवकोटालाई ‘पार्टीले तपाईलाई महत्वपूर्ण जिम्मेबारी दिन्छ’ भन्ने बचन अध्यक्ष ओलीले दिएका थिए । त्यसैले अरु महत्वपूर्ण जिम्मेबारी सकिएकाले राष्ट्रपतिको उम्मेदवार गोमालाई बनाउने सम्भावना रहेको एमालेभित्रै चर्चा छ ।
देवकोटा श्रषि देवकोटा ‘आजाद’की श्रीमति हुन् । उनलाई बनाएमा पार्टीका सहिद परिवारको सम्मान हुने बुझाई ओलीको रहेको निकटवर्तीहरू बताउँछन् ।
अर्कोतर्फ ओलीले आफूले जे भन्यो त्यही मान्ने खालको व्यक्तिलाई राष्ट्रपति बनाउन खोजिरहेका छन् । अन्य नाम आएका नेताहरू भएमा आफूले भनेको नमान्न पनि सक्छन् भन्ने ओलीको बुझाइ छ । तसर्थ ओलीले दोवकोटा रोज्न सक्ने सम्भावना छ ।
प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने बताउने गरेका छन् । तर, किन राष्ट्रिय सहमति भनिरहेकै छन् यसले केही आशंका एमाले जनमा उब्जाएको छ ।
अझ केही एमाले नेताहरूले त प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरूबारे उति धेरै छलफल हुन नसकिरहेको बताइरहेका छन् ।
राजनीतिक बृत्तमा राजनीतिक पार्टी बाहिरबाट राष्ट्रपतिको खोजी भइरहेको चर्चा समेत चलिरहेको छ । यस्तो चर्चा चल्नु पनि प्रधानमन्त्री प्रचण्ड प्रष्ट नहुँदाको कारण भएको एमालेको भनाइ छ । यसले आशंका र गतिविधिले ठाउँ पाइरहेको एमाले नेताहरू बताउँछन् ।
अर्कोतर्फ ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजीमा लाग्नसक्ने केहीले बताउँछन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने हो कि भन्ने डर पनि प्रचण्डमा छ । संवैधानिक निकायमा ओलीले सिफारिस र नियुक्त गरेका ५२ जनाको पद जोगिने, रवि लामिछानेले लिएको उपसभामुख र गृहमन्त्रीको साथ पाउने अनि राष्ट्रपति समेत ओली अनुकुल आए आफू असुरक्षित भइने हो कि भन्नेमा प्रचण्ड रहेको निकटवर्तीहरू बताउँछन् ।







































