काठमाडौं । नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी पनि छानविनको दायरामा आउने बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार गरेको पत्रकार सममेलनमा बोल्दै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए ।
‘क्यानको काम खेल आयोजना हो । अहिलेसम्म क्यानका पदाधिकारीको संग्लग्नता देखिएको छैन । स्पट फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउँछन्,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भने ।
सीआईबीले ४ नेपाली ६ विदेशीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार पूर्व क्रिकेटर मेहबुब आलम र नेपाल टी–२० मा जनकपुर रोयल्सबाट खेलेका अलराउण्डर मोहम्मद आदिल आलम छन् । फ्रेन्चाइज टिमका ६ मध्ये चारजना म्यानेजरकै संगलग्नता भेटिएको प्रहरीले बताएको छ ।







































