काठमाडौँ । सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका छन् । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनमत पार्टीलाई प्रधानमन्त्रीले छलफल गर्न बोलाएका हुन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने भएका छन् । जनमत पार्टीले आफूले चाहेको मन्त्रालय चाहिने भन्दै सरकारमा नजाने बताउँदै आएको छ ।
आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका खानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेका छन् ।
प्रधानमन्त्री दाहाल र मन्त्री खानबीच शनिबार संसद्मा पनि छलफल भएको थियो । सुरुमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र मन्त्री खानबीच छलफल भएको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमै सरकार र त्यसमा संलग्न अन्य पार्टीहरूको रवैयाप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा जनमत पार्टीले खानेपानी मन्त्रालय पाएको छ । तर, उक्त पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गर्दै आएको थियो ।
मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै आएका खानले पदभार ग्रहणसमेत गरेका छैनन् ।








































