काठमाडौ । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि काठमाडौंमा गर्ने प्रदर्शन र विरोधसभाका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले राजधानीमा गर्न लागेको विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित हुने भएको हो।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएसँगै उक्त क्षेत्र भएर हिड्ने सवारी ट्राफिक जाममा फस्ने भएको छ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।
प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए।
हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए। उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दाबी गरेका थिए।
यसरी रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागिए पछि तीनैतर्फ र टुँडीखेल वरिवरिकै आवागमन पूर्णतः प्रभावित हुने भएको छ।
ट्राफिक प्रहरी महाशाखाले भोलि र्याली, जुलुस र आमसभा हुने स्थानको ट्राफिकका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।
ट्राफिक प्रहरीले भोलि हुने र्यालीका बारेमा जानकारी पाइसकेको भन्दे आवश्यक सबै जनशक्ति केन्द्रीत हुने जानकारी दिएको छ।
‘हामीले प्रदर्शनका सूची पनि पाइसकेका छौं। भोलि सबै जनशक्ति त्यसमा खटिनेछ। हामीले भीड अनुसार व्यवस्थापन गर्ने योजना बनाएका छौं। चरणबद्ध रूपमा आवश्यकता अनुसार पर्न सक्ने जटिलतालाई हेरेर करिब १५-२० वटा बुदाँमा हामीले व्यवस्थापन गर्ने सोचेका छौं’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने, ‘भोलि अन्यत्र खटिने ट्राफिक प्रहरीहरू पनि त्यसैमा केन्द्रित हुनेछन्। अहिले सबै भन्न सकिने अवस्था छैन। हामीले तयारी गरिसकेका छौं।’









































