04, May, 2024

पाँच महिनापछि पहिलोपटक मृत्यू शून्य

Bagmati Voice
संवाददाता
१५ माघ २०७७, बिहीबार १९:४७ | ३ साल अगाडी

काठमाडौं । कोरोनाको खोप लगाउन सुरु भएको भोलीपल्ट अर्को सुखद समाचार आएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशमा कसैको पनि मृत्यू भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिनामा पहिलोपटक मृत्यू शून्यमा झरेको हो । नेपालमा पहिलोपटक गत जेठ १ गते पहिलो एक महिला संक्रमितको मृत्यु भएको थियो । उनी सिन्धुपाल्चोकको सुत्केरी थिइन् । पछिल्लो ५ महिनामा दैनिक १० जनाभन्दा बढीले कोरोनाबाट ज्यान गुमाउँदै आएका थिए ।

पछिल्लोपटक गत साउन १९ गते नेपालमा मृत्यू संख्या शून्य थियो । त्यसयताका करिब पाँच महिनामा प्रत्येक दिन कोरोनाले मृत्यू हुँदै आएको थियो । गत कात्तिक १९ गते एकै दिन सबैन्दा बढि ३० जनाको मृत्यू भएको थियो ।

दैनिक मृत्यूको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यू शून्यमा झरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।‘लामो समयपछि कोरोनाबाट मृत्यू शून्यमा झरेको हो,’ उनले भने ।

नेपालमा अहिलेसम्म कुल २ हजार २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यूदर ०.७५ प्रतिशत रहेको छ जुन अन्य देशको तुलनामा न्यून हो । दैनिक मृत्यूको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यू शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण दर पनि घट्दै
नेपालमा कोरोनाको संक्रमण दर पनि केही समयदेखि घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । त्यसो त कोरोना परिक्षण संंख्या पनि घटिरहेको छ ।

तथ्यांकअनुसार गत कात्तिकमा कोरोनाको महामारी नेपालमा उच्च विन्दूमा पुगेको थियो । गत ५ कात्तिकमा एकै दिन ५ हजार ७ सय ४३ जना संक्रमित भेटिएका थिए । हाल संक्रमण दरमा सिथिलता आइरहेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको अनुपात ९८ प्रतिशतको हाराहारी छ ।

संक्रमणको आधारमा नेपाल ४४ औं स्थानमा छ ।

१५ माघ २०७७, बिहीबार १९:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading