काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक डाक्टरमाथि दुर्व्यवहार भएको छ । अस्पतालको कोभिड आईसीयूमा खटिएका डा.सविन भण्डारीमाथि दुर्व्यवहार भएको हाे ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेका हुन् । रुपन्देहीको बुटवलबाट उपचारका लागि आएका व्यक्तिको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । निमोनियाका बिरामी भएपनि अस्पतालमा भर्ना गर्ने समयमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
यता इन्फ्लुएन्जाको आशंकामा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नमुना पठाइएको थियो । सो क्रममा पीसीआर पनि परीक्षण गर्दा उनकाे रिपोर्ट पोजेटिभ आएकाे बताइएकाे छ ।
आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा उनको मंगलबार बिहान ११ बजे मृत्यु भयो । तर मृतकका आफन्तले कोरोना नभएका बिरामीलाई कोभिड आईसीयूमा राखेकाले उनको मृत्यु भएको भन्दै डा.भण्डारीमाथि लात्ती प्रहार गरेका हुन् ।








































