18, May, 2024

करारका कर्मचारी हटाएपछि मेयरविरुद्ध वडाध्यक्षहरूको विरोध

Bagmati Voice
संवाददाता
१० श्रावण २०७९, मंगलवार १८:१३ | १ साल अगाडी

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कुनै पनि निर्णय तथा सूचनाबिना करारका कर्मचारी हटाएपछि उत्पन्न विवाद अझै सुल्झिएको छैन ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आन्तरिक निर्णय गराएर पुराना कर्मचारीलाई बिदाइ तथा नयाँ कर्मचारी नियुक्ति गरेपछि सुरु भएको विवाद समाधान हुन सकेको छैन ।

आफूहरूलाई कुनै पनि जानकारी नै नगराई ९ जना करारका कर्मचारीलाई निलम्बन तथा ११ जना नयाँ कर्मचारी थप गरिएको विरोधमा उपप्रमुखसहित ६ जना वडाअध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख, जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

कुनै प्रक्रिया नै पूरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुनर्विचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रूपमा प्रस्तुत हुने उनीहरूले चेतावनी दिएका छन् ।

उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का अध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्रीवास्तव, ७ का अध्यक्ष ध्रुप यादव, १० का अध्यक्ष विनोद कहाँर र १२ का अध्यक्ष हरिकेश लोधले नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईलाई प्रत्येक्ष भेटेर सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

‘नगर परिषद् र नगर सभाको नाउमा वार्षिक नियमित बजेट मात्र छलफल भई पारित भएको र अन्य कुनै पनि एजेन्डाहरू टेबुल नै नगरी र छलफलमा नल्याई आफ्ना पार्टी, नेता कार्यकर्ताको आग्रहमा प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नयाँ कर्मचारी नियुक्त गरिएकाले यस्ता कार्यहरूको नेकपा (एमाले), लोसपा नेपाल र जनमत पार्टीबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू घोर भर्त्सना गर्दछौँ ।’– ज्ञापनपत्रमा उल्लेख छ ।

‘नगरप्रमुखलगायत नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू तथा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालका जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतको हैसियतले गरेका यस्ता कार्यहरूको तुरुन्त पुनर्विचार गर्नुपर्छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

कर्मचारी हटाउने र नयाँ कर्मचारी नियुक्त गर्ने कार्यको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्थामा तालाबन्दी समेत गर्न पछि नपर्ने उनीहरूले चेतावनी दिएका छन् ।

१३ वटा वडा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, कांग्रेस, जसपाले ३÷३, तथा लोसपा र जनमत पार्टीले १÷१ वडा जितेका छन् ।

१० श्रावण २०७९, मंगलवार १८:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading