वि.सं.२०८३ भदौ १ सोमवार

प्रचण्ड-नेपाल निकटका सांसदले गरे प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन प्रचण्ड–नेपाल पक्षका सांसदहरुले बहिष्कार गरेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओली संसद भवन पुगेपछि प्रचण्ड–नेपाल निकटका सांसदहरु बाहिरिएका थिए। प्रधानमन्त्रीको सम्बोधनलाई आफूहरुले बहिष्कार गरेको प्रचण्ड–नेपाल निकटका सांसद वेदुरामा भुसालले सेतोपाटीलाई बताए।

‘हामी केहीले राष्ट्रिय सभा बैठक बहिष्कार गर्‍यौँ, प्रधानमन्त्रीको भाषणको कुनै अर्थ छैन भनेर हामी हाजिर गरेर निस्कियौँ’, उनले भने, ‘प्रधानमन्त्रीको गाली बाणी बाहेक सम्बोधनमा केही आउने होइन। त्यसैले सुनेर अर्थ पनि थिएन।’

१० दिनमा राष्ट्रिय सभाको ४ दिन बैठक बस्यो। जसमध्ये बैठकले ७ घण्टा समय लिएको थियो। प्रधानमन्त्रीलाई लोकतन्त्रप्रति विश्वास नभएकाले छोटो समयमै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको उनले बताए।

‘संसद सुचारु भएपछि सांसदहरुले प्रश्न उठाउने भए। सांसदहरुलाई बोल्न नदिने उहाँको योजना हो’ उनले भने, ‘उहाँले लोकतन्त्रमाथि योजनाबद्ध आक्रमण गरिरहनुभएको छ।’

प्रधानमन्त्री ओलीले भने राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरिएको बारे कुनै जवाफ दिएनन्। बैठकपछि बाहिरिँदा प्रधानमन्त्रीसँग पत्रकारले सोधेको प्रश्नको जवाफ नदिइकन उनले हात हल्लाएर हिँडे।

राष्ट्रिय सभाका सांसद वामदेब गौतमले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा अधिवेशन लम्ब्याइराख्न जरुरी नभएको बताएका थिए।

नेकपामा आएको विभाजनसँगै राष्ट्रिय सभामा ओली सरकारले बहुमत गुमाएको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन्। जसमध्ये २४ जना प्रचण्ड नेपाल पक्षमा छन् भने सांसद वामदेव गौतम खुलेका छैनन्।

कांग्रेस सांसद रमेशजंग रायमाझीले बहुमत गुमाएकै कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको दावी गरे।

‘उहाहरुसँग बहुमत पनि रहेन। त्यस्तो अवस्थामा कुनै विधेयकमाथि छलफल गर्न पनि कठिन हुने भयो’ उनले भने, ‘संसद सुचारु भएपछि सरकारका गलत कामहरुको आलोचन हुने भयो। आलोचना हुने भएपछि सरकारले अधिवेशन चलाउनुको अर्थ देखेन। त्यसैले अधिवशेन अन्त्य गरेको हो।’

ranechhap