काठमाडौं । अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो ।
सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरू बताउँछन् ।
स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ ।
दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजन उन्मुख रहेको चर्चा चलिरहेको छ।
प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको अध्यावधिक नक्सा जारी गरेपछि आफूलाई भारतले हटाउन लागेको र यो खेलमा पार्टीभित्रैका नेताहरू पनि संलग्न रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि ओलीको पार्टीभित्र र बाहिरबाट आलोचना हुँदै आएको छ।
स्थायी कमिटी सदस्यहरूले गैरजिम्मेवार अभिव्यक्तिले पद त्याग्नुपर्ने माग गरेपछि ओलीले पार्टी विभाजनको धम्की दिएका छन् । सोही तयारीअनुसार नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको, संसद अधिवेशन अन्त्य गरेको र ४० प्रतिशत सांसदभन्दा कमले पनि दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउने गृहकार्यमा ओली लागेको चर्चासमेत हुँदै आएको छ ।
शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भनेर झूटो प्रचार गरिएको स्पष्ट पारेका छन् ।