13, May, 2024

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए, शेरधनले संसदीय दलमा बहुमत गुमाए

Bagmati Voice
संवाददाता
१२ पुष २०७७, आईतवार ०९:५५ | ३ साल अगाडी

बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए ।

सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।

केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।

यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

प्रदेश एकका नेता शावित्रीकुमार काफ्ले पनि बादल समूहमै थिए । तर, बादल केपी ओलीको पक्षमा लागेपछि काफ्लेले पनि बादलको साथ छाडेका छन् ।

कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन् । केही सदस्यहरु यता उता गरिरहेका छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माओवादीले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माओवादीको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत समेटिएको प्रदेश १ मा पूर्वएमालेभित्रै पनि माधव नेपाल पक्षभन्दा ओली पक्ष कमजोर देखिँदै आएको थियो । यसमा माओवादीले माधव नेपाललाई साथ दिएपछि ओली पक्ष थप कमजोर बनेको हो ।

१२ पुष २०७७, आईतवार ०९:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading