वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कांग्रेस प्रवक्ता महतको प्रश्न, ‘जसले धेरै मनोरञ्जन दिन्छ, उसले चुनाव जितिहाल्ने हो र ?’

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको राजनीति अहिले मनोरञ्जनमय भएको बताएका छन् । उनले चुनावको मुखमा राजनीतिलाई मानिसहरूले मनोरञ्जनको रुपमा मात्रै बुझिदिनुपर्ने हो कि भन्ने अवस्था सिर्जना भएको बताए । सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले राजनीति मनोरञ्जनमात्रै नभएको बताए ।

‘कहिले कसले मनोरञ्जन गर्छ, कहिले कसले गर्छ, अहिले काठमाडौंमा केशव स्थापित फेरि मनोरञ्जन गरिरहेको देख्छु,’ उनले भने, ‘राजनीति भनेको मनोरञ्जन होइन, चुनावको मुखमा जसले धेरै मनोरञ्जन दिन्छ, उसैलाई जिताउनुपर्ने हो कि भनेजस्तो अवस्था सिर्जना गर्न खोजेको देख्छु । तर अब धेरै मनोरञ्जन चल्दैन ।’

प्रवक्ता महतले कांग्रेसको अघिल्तिर काठमाडौंमा केशव स्थापितको मनोरञ्जन नचल्ने बताए । ‘नेपाली कांग्रेस काम गर्ने पार्टी हो, कांग्रेस गफ गर्न जान्दैन । अहिले मौका छ, काम गर्ने पार्टीलाई जिताएर पठाउनुस् भनेर म सबै नागरिकलाई अनुरोध गर्दछु,’ उनले भने, ‘काठमाडौं महानगरपालिका एउटा महानगरपालिका मात्रै होइन, देशको राजधानी हो, सांस्कृतिक सहर हो, काठमाडौंलाई अन्तर्राष्ट्रियस्तरमा थप चिनाउनका लागि कांग्रेसले मात्रै नेतृत्व गर्न सक्छ । अरुले गर्न सक्दैनन् भनेर हामीले गएको पाँच वर्षसम्म देखिसक्यौँ ।’

उनले कांग्रेस उम्मेदवार सिंह राजनीतिमै नभएको भन्ने कुरा गलत भएको बताए । ‘मैले प्रकाशमानजी भन्दा पहिलेदेखि सिर्जनाजीलाई चिन्छु, म विद्यार्थी राजनीति गर्दा नै सिर्जनाजी विद्यार्थी राजनीतिमा आउनुभएको थियो । उहाँ सक्रियता त्यही बेलादेखि हो,’ प्रवक्ता महतले भने, ‘विवाहपछि उहाँले चुपचाप भएर परिवारलाई सघाउनुभयो । त्यही कारण त्यो परिवारको एउटा मिसन पूरा भयो । वास्तवमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा गणेशमान सिंहको परिवारको ठूलो योगदान छ ।’

काठमाडौंमा सत्ता गठबन्धनबाट मेयरमा कांग्रेस नेतृ सिंह उम्मेदवार छिन् भने नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठ उपमेयर पदका उम्मेदवार छन् । त्यस्तै, नेकपा एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार छन् । स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएका बालेन्द्र शाह समेत चर्चामा छ ।

ranechhap