रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि व्यवसायिक उडान सुरू गरिएको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भएको यस विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरका जहाज अवतरण भएसँगै धावनमार्ग सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।
अब सबै उडान र अवतरण पुरानो रनवेमा नभएर नयाँ रनवेमा हुने र पुरानो रन वेलाई टयाक्सी वेका रूपमा प्रयोगमा ल्याइएको दहालले बताए ।
१५ सय मिटर लम्बाइको धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको छ । सन् १९५८ जुलाई ८ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षपछि नयाँ धावनमार्गबाट उडान थालेको हो । यहाँबाट दैनिक १५ देखि २८ वटासम्म आन्तरिक उडान हुँदै आएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुनेछ ।
अब ठूला जहाज र विदेशी एयरलाइन्सले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।
एरोनटीकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुणलगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् ।
विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले बताए ।
अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन् ।
यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । हालसम्म औपचारिकरूपमा जजीराले अनुमति लिए पनि अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । यसको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।
यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कमी हुने विश्वास लिइएको छ ।
बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।
टीआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।









































