01, May, 2024

हुम्लाको नाम्खा गाउँपालिकामा समुदायस्तरमै फैलियो कोरोना

Bagmati Voice
संवाददाता
३ मंसिर २०७७, बुधबार ०७:४७ | ३ साल अगाडी

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ।
पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो।

गाउँपालिकाको अन्य वडामा सङ्क्रमण नदेखिएको भए पनि वडा नं ४ को प्रत्येक गाउँमा कोरोना सङ्क्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका छन्।

सोमबारसम्म ५३ जना सङ्क्रमित रहेको नाम्खामा मङ्गलबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा थप तीन जनामा संक्रमण देखिएको फडेराले बताए। गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।

पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मङ्सिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मङ्लबार थप तीन जनामा सङ्क्रमण देखिएको हो।

हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नं ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन्।

यस्तै दुई कोरोना सङ्क्रमितलाई महँगो हवाईभाडा १०-१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ।

नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ। सङ्क्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ।

उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन्।

याल्वाङमा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ।

३ मंसिर २०७७, बुधबार ०७:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading