काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेकपा केन्द्रीय सदस्य सूर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।
शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले एकल रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए। दाहालको प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको उल्लेख छ।
‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन। पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो।’
दाहालले आफ्नो प्रतिवेदन फिर्ता नलिए नेकपामा कुनै तहका बैठक र छलफल हुन नसक्ने थापाले उल्लेख गरेका छन्। यस्तो अवस्थामा भएका संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुग्ने उनको भनाइ छ।









































