वि.सं.२०८३ वैशाख १७ बिहीवार

मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन डा. केसीको माग

khanepani

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन् ।

‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’ केसीले भनेका छन् ।

केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् । त्यस्तै उनले स्वास्थ्य संस्थालाई करारका चिकित्सिकको भरमा काम चलाउने गरिएको भन्दै आवश्यक संख्यामा स्थायी चिकित्सक नियुक्त गर्न पनि माग गरेका छन् ।

ranechhap