काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलनलाई पेचिलो बनाउदै लगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं झरेका छन ।
मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले गरेको देउवा निकट स्रोतले बताएको छ ।
अर्का नेकपाका अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन् ।
‘प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ । कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले बताएको छ ।
नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ ।









































