काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिलेका सबै मन्त्री हटाउने विकल्प समय सापेक्ष नभएको बताए।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको छिट्टै पुनर्गठन गर्नेसमेत बताएका थिए।
‘स्थायी कमिटीको निर्देशन पनि त्यही हो,त्यही गर्ने नै भन्नुभयो। यही विकल्प भनेर उहाँले भन्नुभएन,ु एक सचिवालय सदस्यले भने, ‘उहाँले केही नयाँ राख्ने र केही पहिलाकै राख्ने हुन्छ होला भन्नुभयो। पुरा हटाउने विकल्पमा जानु त्यति उपयुक्त हुँदैन की भन्ने थियो।’
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्षमताका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बताएका थिए।
‘पहिला राम्रो गरिरहेका र वरिष्ठलाई हटाउन भएन। मन्त्री बनाउँदा धेरै नयाँ राख्नु पर्छ होला,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,’वरिष्ठ, क्षमतावान् धेरै पटक सांसद भएका र मौका नपाएकालाई मन्त्री बनाउनु पर्छ।’
छिटोभन्दा छिटो मन्त्रिपरिषदको पुनर्गठन गर्ने सबैको धारणा रहे पनि व्यक्ति र समयबारे छलफल नभएका अर्का एक सचिवालय सदस्यले बताए।
‘कसरी गर्ने भन्नेमा विभिन्न कुरामा छलफल भयो, यही भन्ने भएन। सबै हटाउने पनि गर्नु हुँदैन भन्ने आएको थियो,’ उनले भने,’सामान्यतस् केही वरिष्ठ वा पहिला राम्रो काम गरेकालाई निरन्तरता दिने, धेरै पटक चुनाव लडेर मौका नपाएका,जातीय, क्षेत्रीय,भाषिक र सांस्कृतिक रूपमा पनि मिलाउने तथा समावेशी बनाउने जस्ता कुरासमेत आएका थिए।’
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद समावेशी बनाउने र वरिष्ठ तथा क्षमतावानलाई मौका दिनुपर्ने धारणा राखेका थिए।
मन्त्रिपरिषद पुनर्गठनबारे सचिवालयमा छलफल सकिएको छ। भोलिको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल हुने कार्यतालिका तय भएको छ।
मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा थप छलफल गर्ने एक सचिवालय सदस्यले बताए।








































