काठमाडौं । २०७५ मंसीर ९ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी १४०० मध्ये ७०९ महासमिति सदस्यले ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्दै हस्ताक्षर गरे । संकलित हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइयो ।
महासमितिले त्यसउपर कुनै छलफल भने गरेन।बरु महासमितिले पास गरेको समसामयिक १६ बुँदे प्रस्तावको बुँदा नम्बर २ मा धार्मिक स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । ‘नेपाली कांग्रेस धार्मिक स्वतन्त्रता, एक-अर्काको धर्मप्रति सम्मान र धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्दछ’ प्रस्तावमा भनिएको छ, ‘कसैको पनि धर्म परिवर्तन गराउने वा अर्को धर्ममा खलल गर्ने काम वा व्यवधान गर्नु दण्डनीय हुनेछ भन्ने संविधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा विश्वास गर्दछ ।’
कांग्रेस सांसद राजेन्द्रकुमार केसी महासमिति सदस्यहरूले हस्ताक्षर संकलन गरेर बुझाएपछि निर्णय नहुनुबाटै यो विषयको अन्त्य भएको बताउँछन् ।









































