वि.सं.२०८२ कात्तिक ३० आइतवार

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा न्युरोडका दुई सुन व्यवसायी पनि पक्राउ

khanepani

काठमाडौं । प्रहरीले कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा थप दुई सुन व्यवसायीलाई पक्राउ गरेको छ।

प्रहरीले भदौ १५ गते न्युरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरेको हो।

उनीहरूविरूद्ध पनि प्रहरीले संगठित अपराधको कसूरमा अनुसन्धान अघि बढाएको छ।

तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेका थिए। उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ताम्राकारले भने आधा केजी सुन नेपाल राष्ट्र बैंकबाट किनेका थिए।

‘बैंकबाट किनेको ढिक्का सुनलाई गहना बनाएर मात्रै बेच्न पाइन्छ। तर विजय ताम्राकार र अष्टमंगलले गहना नबनाइकन नै उनीहरूलाई बेचेको हुँदा उनीहरूलाई प्रहरीलाई पक्राउ गरेको हो,’एसपी राठौरले भने,’उनीहरूमाथि पनि सोही संगठित अपराधको कसूरमा मुद्दा अघि बढाइएको छ।’

त्यस्तै, उनीहरूले चाँदी भने न्युरोडको सिल्भर स्टेटबाट किनेका थिए। प्रहरीले त्यसको सञ्चालकलाई भने पक्राउ गरेको छैन।

‘चाँदीको भने ढिक्का नै बेच्न पाइने भएको हुँदा उनलाई पक्राउ गरिएको छैन,’एसपी राठौरले भने।

यस प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुगिसकेको एसपी राठौरले बताए।

‘हामीले अनुसन्धान गर्न थालेको आज ४२ दिन भयो। सरकारी वकिल कार्यालयमा ६० दिन भित्र पेश गर्नु पर्छ। हामीले ५० देखि ५५ दिन भित्रै पेश गर्ने छौं,’उनले भने।

अहिले दुई जना व्यवसायीसहित ११ जना हिरासतमा छन्।

हिरासतमा रहेका तस्करहरू इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवान प्रसन्न श्रेष्ठ र उनका घरबेटी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र कालिगढ मनिष छन्।

प्रहरीले यस घटनामा एक ट्याक्सी ड्राइभरलाई समेत पक्राउ गरेको थियो। तर उनको कुनै संलग्नता नदेखिएपछि प्रहरीले छोडेको थियो।