बुटवल । कपिलवस्तुको कृष्णनगरमा दूषित पानीका कारण झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु कृष्णनगर नगरपालिका – ९ का चार वर्षीय बालक र वडा नम्बर ८ का ४५ वर्षीय बब्लु केवट रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले जानकारी दिए ।
शिवराज अस्पताल बहादुरगञ्जमा झाडापखाला लागेका ५२ जनाको उपचार भइरहेको छ र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए ।
‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले भने । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताए ।








































