काठमाडौं । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेसनमा छन्।
कोभिड-१९ को रोकथामका लागि सबभन्दा बढी सक्रिय मन्त्रीका रूपमा चिनिएका घिमिरेलाई शनिबार रातिदेखि कोरोनाका लक्षण देखिन सुरू गरेका थिए।
‘मलाई शनिबार रातिदेखि नै झाडापखाला भयो। हिँडिराख्नु पर्ने भएकाले जहाँ जे पाइन्छ त्यही खानुपर्छ। त्यसैले फुड पोइजन भएछ कि भन्ने भएको थियो,’ उनले भने, ‘तर डाइरिया रोकिएन।’
उनी शनिबार भेन्टिलेटर र आइसोलेसन स्थापनाका लागि धनकुटा जिल्ला अस्पतालमा पुगेका थिए। दिनभरी त्यहाँका डाक्टर, सिडिओलगायतसँग बैठक गरेका उनी रातिमात्र घर फर्के। त्यही रात पखाला सुरू भयो। उनले औषधी खाए। तैपनि पनि रोकिएन, झन् बढ्यो। ज्वरो पनि आउन थाल्यो। त्यसपछि बल्ल उनलाई आफूमा कोरोनाका लक्षण देखिएको शंका भयो।
पिसिआर टेस्ट गराउँदा पोजेटिभ आयो। उनको परिवारको पनि कोरोना टेस्ट गरिएको थियो। सबैको नेगेटिभ आएको छ।
‘हिजोसम्म ज्वरो पनि १ सय २र३ डिग्री थियो। पखाला पनि रोकिएको थिएन। डक्टरहरूले अहिले आत्तिन नपर्ने लक्षण बढे वा अझ गाह्रो भए अस्पताल भर्ना गरौंला भन्नु भएको छ,’ उनले भने, ‘म होम आइसोलेसनमै छु तर डाक्टरहरूको नियमित सम्पर्कमा छु।’
अहिले ज्वरो र पखाला केही घटेपनि सुख्खा खोकी सुरू भएको छ।
उनले अहिले ज्वरो रोक्न सिटामोल र पखाला रोक्ने औषधी खाएका छन्। त्यसबाहेक बेसार पानी र गुर्जो पानी पनि खान्छन्।
‘सिटामोल र पखाला रोक्ने औषधी खाएको छु। घरमा भएकाले बेसार पानी र गुर्जो पानी पनि खान्छु। पहिलैदेखि आयुर्वेदप्रति विश्वास छ। रूघाखोकी लाग्दा पनि बेसार पानी खाने परम्परागत मान्यता छ नि, विश्वास र बानी पनि हो,’ उनले भने, ‘तर डाक्टरहरूले बेसार पानीले कोरोना निको हुन्छ भन्नुभएको छैन। विज्ञानले पनि बेसार पानीले कोरोना सन्चो हुन्छ कोरनाबाट बचाउँछ भनेर पुष्टि गरेको छैन।’
उनी अहिले छुट्टै कोठामा बसेका छन्। थुकका छिटाबाट सर्ने भएकाले संक्रमित मानिस अरूको नजिक नजानु राम्रो भएको उनले बताए। घरमै पनि जोगिएर बस्न सकिने उनको भनाइ छ।
‘कोरोना लागे पनि घरमा बसेरै आफ्नो हेरचाह गर्न सकिन्छ। घरमा बस्ने अरूसँग नजिक नजाने गर्नु। म आफैं त्यही गर्छु। खाना मलाई परिवारले यहीँ कोठाको ढोकामा ल्याइदिन्छन्। ट्वाइलेट बाथरूम छुट्टै छ,’ उनले भने, ‘अली गाह्रो नभएसम्म म अस्पताल जान्नँ।’
धनकुटा गएर आएपछि लक्षण देखिए पनि आफूलाई मन्त्रालय वा विराटनगरका डाक्टरहरूबाट सरेको हुन सक्ने उनको आशंका छ। उनको मन्त्रालयका कर्मचारी र प्रदेश १ का विभिन्न अस्पतालमा काम गर्ने डाक्टरहरूमा संक्रमण देखिएकाले उनी पनि जोखिममा थिए। प्रदेश-१ को सामाजिक विकास मन्त्रालयका २ कर्मचारी, कोशी कोभिड अस्पतालका संयोजक डाक्टर ज्ञानेन्द्र बस्नेत, गोठगाउँको कोभिड अस्पतालका संयोजक डाक्टर धरणी निरौलालगायत २६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ।









































