बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचाको संज्ञा दिएका छन् । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकार हो कि बुख्याँचा हो भनी प्रश्न गरेका हुन् ।
‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ ओलीले भने । ओलीले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए । आफू नेतृत्व तत्कालीन सरकारले गरेको कामबाट सरकार आत्तिएको बताए ।
‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भने, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्य जस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।’
आफ्नो सरकारले विकासका लागि सयौं सडक, अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए ।
‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो’, ओलीले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस् त २ महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’
गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दावी गरे ।
माधव नेपाललाई भने ‘अपराधी’
अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाएका छन् । ‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड, उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’
माधव नेपालले सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए । ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गितमा जस्तै माधव नेपाललाई पोल्नेछ’ उनले भने ।









































