08, Sep, 2024

प्रधानमन्त्री ओलीले भने, “ जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ । ”

Bagmati Voice
संवाददाता
१० असार २०७७, बुधबार १५:३९ | ४ साल अगाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन । प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राज्यको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूसँँगको विशेष कुराकानी गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने स्पष्ट पारेका छन । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “अब यसले हामीलाई झुक्याउन सक्दैन । ”
कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको पनि बताए ।

उनले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताए । प्रधानमन्त्री ओलीले भने, “अहिले जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ । ”

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताएका हुन ।

विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेशद्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा भावुक कुरा गर्नु हुँदैन भने । नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीले स्वदेश आउन नपाएको गुनासोलाई सरकारले सम्बोधन गर्दैछ कि भनी राखिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताए । कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उहाँहरू घर फर्कनुपर्ने प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई कोरोना भाइरसको इपिसेन्टर हुन दिइँदैनभने । उनले यस महामारीविरुद्ध लड्न र सफलता पाउन विश्व एकताबद्ध भई लाग्नुपर्ने अवस्था रहेको बताए ।

अहिलेको असामान्य परिस्थितिमा नागरिकका लागि केही असुविधा हुन सक्छन् तर सरकार जनताका समस्या समाधान गर्न सधैँ तत्पर रहेको प्रधानमन्त्रीले बताएका छन। उनले लकडाउनको अवस्थामा हिँडेरै घर जाने क्रममा रहेका मानिसलाई उनीहरू जहाँ पुगेका छन् त्यहाँ खानेबस्ने व्यवस्थासमेत गरिएको जानकारी दिए । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले रोग र भोकले जनता मर्न नदिन आवश्यक व्यवस्था गरिएको छ, भने ।
औषधि खरिद प्रक्रियामा अनियमितताबारे राखिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू पैसा कमाउन नभई देश बनाउन लागिरहेको बताउँदै औषधि तथा उपचारका अन्य सामग्री खरिदमा अनियमितता भएको भए कोही पनि कारबाहीबाट उम्कन नपाउने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ठूलो सङ्ख्यामा नेपाली रहेका भारतलगायत विभिन्न मुलुकका समकक्षी र उच्च व्यक्तित्वसँग नेपालीको अवस्थाबारे लगातार टेलिफोन संवाद गर्दै आउनुभएको छ । ती संवादबाट नेपालीलाई त्यहाँका नागरिकसरह व्यवहार गर्ने गरी राम्रो समझदारी बनेको उनले बताए । प्रधानमन्त्री ओलीले साइप्रसमा रहेका नेपालीका बारेमा आउँदो बुधबार त्यहाँका राष्ट्रपतिसँग कुराकानी गर्ने जानकारी दिए। उनले नेपालमा रहेका विदेशी नागरिकलाई पनि भोकै मर्न नदिने स्पष्ट कुरा स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, “कोरोना भाइरस फैलन नदिन परीक्षणलाई तीव्र पार्दै ७७ वटै जिल्लामा साधन, स्रोत, उपकरण र जनशक्ति पु¥याइएको छ । ” उनले कोरोना नियन्त्रणका लागि हरेक जिल्लामा सुविधासम्पन्न अस्पताल बन्ने हुँदा कोरोना नियन्त्रणपछि मुलुकले स्वास्थ्य उपचारमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बाहिरबाट आएका, तिनका सम्पर्कमा रहेका र सम्पर्कमा आउने सम्भावना भएका नागरिकको खोजीखोजी परीक्षण गरिएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा हाल आपूर्ति व्यवस्था ठीक रहेको स्पष्ट गर्दै बन्दाबन्दीपछि ८० करोड रुपियाँ बराबरको राहत बाँडिएको जानकारी दिए । उनले एकै ठाउँमा बसेर काम गर्ने अवस्था भएमा रोजगारको व्यवस्था गर्न सकिने समेत बताए ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा नेपाली जनताबाट प्राप्त सहयोग, समर्थन र सहकार्यका लागि धन्यवाद व्यक्त गरे। उनले भने, “नेपाली जनताले अत्यन्तै ठूलो समझदारी देखाउनुभएको छ । परिस्थिति बुझ्नुभएको छ । ”

प्रधानमन्त्रीले भने, “सरकारसँग एकताबद्ध ढङ्गले काँधमा काँध मिलाएर सुदृढ समर्थन, साथ सहयोग गरेर कोभिडविरुद्धको लडाइँमा हरेक नेपालीले सिपाहीको भूमिका खेल्नुपर्छ । ” प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नेपालप्रति सहयोग र सद्भाव राख्ने मित्रराष्ट्रलाई पनि धन्यवाद समेत दिए ।

१० असार २०७७, बुधबार १५:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading