काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले सरकारले गत शुक्रबार १३ देशका लागि राजदूतमा सिफारिस गरेकाहरूको उजुरी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । बैठकपछि समिति सभापति बोधनारायण श्रेष्ठले सरकारी सञ्चारमाध्यम र संघीय संसद सचिवालयको विद्युतीय पेजबाट उजुरी आह्वान गर्ने निर्णय भएको सुनाए ।
समितिले उजुरीका लागि १० दिनको समय पनि तोकेको छ । अबको बैठक असोज २० गते बिहान सवा ११ बजे बसेर उजुरी खोल्ने निर्णय पनि गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा डा. निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा, अमेरिकामा चिरनजंग थापा, बेलायतमा पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरेको थियो ।
त्यस्तै जापानमा जिग्यान कुमार थापा, इजरायलमा सुरेशकुमार कर्ण, स्पेनमा प्राप्ति शेरचन, जर्मनीमा शारू जोशी, ओमानमा डा. पद्माक्षी राणा, मलेसियामा चूडामणि खरेल, दक्षिण कोरियामा प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकामा डा. मञ्चला झा र साउदी अरेवियामा गिरीबहादुर सुनारलाई राजदूतमा प्रस्ताव गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट एग्रिमो लिन पठाइनेछ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन् ।







































