काठमाडौँ । समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्लामा संयोजक तोकेको हो ।
डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् । यही असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहले ५५ जिल्लामा संयोजक तोकेको नेता एनपी साउदले जानकारी दिए ।
साउदका अनुसार कोशी प्रदेशका ८ जिल्लामा संयोजक तोकिएको छ । पाँचथरमा डेकेन्द्र कुमार तामाङ, झापामा कृष्ण हुमागाई, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेत संयोजक तोकिएका छन् ।
समूहले मोरङ र उदयपुरमा सहसंयोजक पनि तोकेको छ । मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सहसंयोजक तोकिएका छन् ।
समूहले मधेस प्रदेशमा भने हालसम्म कुनै जिल्लामा पनि संयोजक तोकेको छैन ।
यस्तै बागमती प्रदेशका ११ जिल्लामा समूहले संयोजक तोकेको छ । दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जन संयोजक तोकिएका छन् ।
दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । भक्तपुरमा संयोजक तोकिएका थापा जिल्ला सभापति हुन् ।
नेता साउदका अनुसार गण्डकी प्रदेशका ८ जिल्लामा संयोजक तोकिएको छ । गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक तोकिएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामै संयोजक तोकिएका छन् । नवलपरासी पश्चिममा विकाश घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम (पूर्व)मा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डे संयोजक तोकिएका छन् ।
कर्णालीका ८ जिल्लामा पनि संयोजक तोकिएका छन् । डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सुर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराई संयोजक तोकिएका छन् ।
यसैगरी सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन् । बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् ।
कञ्चनपुरमा संयोजक तोकिएका बोगटी नै जिल्ला सभापति थिए । उनी अहिले संस्थापन विरोधी कित्तामा उभिएका हुन् । यस्तै कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ । संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नुपर्ने आवश्यक काम गर्नेछन् ।







































