वि.सं.२०८३ असोज ७ बुधवार

गुट बनाएर गद्दारी गरेका चीनका दुई उच्च सैन्य अधिकारी कम्युनिस्ट पार्टीबाट निष्कासित

khanepani

एजेन्सी । चीनले भ्रष्टाचार र पार्टीप्रति बफादार नभएको आरोपमा दुई वरिष्ठ सैन्य अधिकारीलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको छ। अलजजीराका अनुसार, चीनमा जारी भ्रष्टाचारविरोधी अभियानकै क्रममा उनीहरूमाथि पछिल्लो कारबाही गरिएको हो।

चीनले सेनाभित्र भ्रष्टाचार नियन्त्रण गर्न थालेको अभियानलाई पछिल्लो समय थप तीव्र बनाएको छ। त्यसैक्रममा दुई उच्च तहका जनरललाई पार्टीबाट निष्कासन गरिएको हो।

झाङ युस्या र लिउ झेनलीले ‘राजनीतिक अनुशासन र राजनीतिक नियमको गम्भीर उल्लंघन गरेको, गुट तथा समूह बनाएको र पार्टीप्रति अवफादार तथा बेइमान रहेको’ चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सोमबार आधिकारिक दस्ताबेज उद्धृत गर्दै जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीले सैन्य अधिकारीहरूमा भ्रष्टाचारसँगै पार्टीप्रतिको निष्ठा र अनुशासनलाई पनि प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो कारबाहीलाई चिनियाँ सेनाभित्र जारी शुद्धीकरण तथा अनुशासन अभियानकै हिस्साका रूपमा हेरिएको छ।

चीनले पछिल्ला वर्षहरूमा सेनाका उच्च तहका अधिकारीहरूमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान र कारबाहीलाई निरन्तरता दिँदै आएको छ। पछिल्लो घटनाले राष्ट्रपति सी चिनफिङ नेतृत्वको भ्रष्टाचारविरोधी अभियान अझै उच्च तहसम्म जारी रहेको देखाएको छ।

चीनको सैन्य नेतृत्वमा हुने यस्ता कारबाहीले जनमुक्ति सेनाभित्रको अनुशासन, नेतृत्व र कमान्ड संरचनामा पनि प्रभाव पार्ने गरेको छ।

ranechhap