वि.सं.२०८३ असोज ५ सोमवार

संविधानमाथि आन्तरिक तथा बाह्य शक्तिबाट प्रहार भइरहेको छ : अमरेशकुमार

khanepani

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिए ।

कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रव्यूहमा फस्ने र मधेसले जनयुद्ध तथा मधेस आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिसमेत समाप्त हुने उनले बताए ।

केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेसलाई सधैँ उपेक्षा गरेको आरोप लगाउँदै सिंहले मधेस र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने दुष्प्रयास भइरहेको आरोप लगाए । आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने उनले स्पष्ट पारे ।

सिंहले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइजस्ता आधारभूत आवश्यकताहरू अझै लथालिङ्ग अवस्थामा रहेको उल्लेख गर्दै मधेसमा हालसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।

मधेसका वास्तविक समस्या, जनअपेक्षा तथा विकासका चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्न आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा पनि सांसद सिंहले गरे ।

ranechhap