बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले चालक र पम्प सञ्चालकसँगै अन्य व्यक्तिको सम्भावित संलग्नताबारे समेत अनुसन्धान अघि बढाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले गत मंगलबार (भदौ ३० गते) सर्राफ आयल पम्पमा छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुई वटा ट्याङ्कर फेला पारेको थियो । अर्को एउटा ट्याङ्करले तेल खन्याएर बाहिर निस्किसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलवारीतर्फ पेट्रोलियम पदार्थ लिएर आउँदै गरेका ट्याङ्करबाट बाटोमै अनधिकृत रूपमा डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
घटनामा संलग्न ट्याङ्कर चालकविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले अहिले चालक र पम्प सञ्चालकबाहेक अन्य व्यक्तिको सम्भावित संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी शारदा प्रसाद चौधरीले घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको बताए ।
उनले भने, ‘तेल कसरी आयल निगममा नपुगी सीधै पम्पमा लगियो र यसमा को–को जोडिएका छन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । चालक र पम्प मात्रै दोषी हुन् कि अन्यको पनि संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ अनुसन्धानकै क्रममा रहेकाले घटनासँग सम्बन्धित सबै विषय अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ट्याङ्कर चालक मसुद अजहर हुसेन र दुर्गेश चाईविरुद्ध चोरी मुद्दा दर्ता गरेको छ ।
प्रहरीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुई वटा ट्याङ्करबाट करिब ३० लिटर डिजेल निकालेर ड्रममा खन्याइएको अवस्थामा फेला पारेको थियो । घटनामा शङ्कास्पद देखिएको लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्करसमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका छन् ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले घटनामा संलग्न चालक, सहचालक तथा पम्प सञ्चालकलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।
निगमले घटनामा संलग्न सर्राफ आयल पम्पलाई ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्ने निर्णय गर्दै १ लाख रुपैयाँ जरिवानासमेत गरेको छ ।
यस्तै अमलेखगञ्जबाट भलवारीस्थित निगमको कार्यालयमा तेल अनलोड गर्नुपर्ने ट्याङ्कर निर्धारित मार्ग छाडेर अन्यत्र लगेर पेट्रोलियम पदार्थ निकालिएको पाइएपछि सम्बन्धित चालक तथा सहचालकलाई निगमका डिपो तथा कार्यालयमा प्रवेशमा रोक लगाइएको छ । निगमसँग करार सम्झौता भएका ट्याङ्कर सञ्चालन गर्न नपाउने गरी समेत कारबाही प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ ।
निर्धारित स्थानमा मात्रै सिल खोल्न मिल्ने व्यवस्था
नेपाल आयल निगमले ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत बिक्री हुन नदिन ट्याङ्करमा विशेष सिल तथा तालाबन्दी गर्ने व्यवस्था गरेको छ । उक्त सिल तथा ताला लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्रै खोल्न मिल्ने व्यवस्था रहेको निगमले जनाएको छ ।
नेपाल आयल निगम भलवारीका निमित्त प्रमुख सुरेन्द्र विष्टले ट्याङ्करमा लगाइएको सिल तथा ताला निर्धारित स्थानमा मात्रै खोल्न मिल्ने बताए ।
अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लोड गरेर आएका ट्याङ्कर भलवारीस्थित निगमको कार्यालयमा पुगेपछि तेलको गुणस्तर तथा परिमाण परीक्षण गरिन्छ । परीक्षणपछि मात्रै सम्बन्धित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने निगमको प्रक्रिया छ ।
तर भैरहवाको घटनामा ट्याङ्कर भलवारीस्थित निगमको कार्यालय नपुगी निर्धारित मार्गबाट अन्यत्र लगेर पम्पमै डिजेल निकालिएको पाइएको हो ।
पम्पमा ट्याङ्करबाट डिजेल निकालिरहेको सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले छापा मारी घटनामा संलग्नलाई नियन्त्रणमा लिएको थियो ।
रुपन्देहीमा यस अघि पनि ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा ट्याङ्कर तथा पेट्रोल पम्पलाई कारबाही गरिएको घटना सार्वजनिक भएका थिए । पछिल्लो घटनापछि प्रहरीले ढुवानी प्रक्रियामा संलग्न विभिन्न पक्षबिच सम्भावित मिलेमतोबारे पनि अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।






































