वि.सं.२०८३ असोज ४ आइतवार

विश्वभर स्वास्थ्यकर्मीको संख्या बढे पनि पहुँच असमान : अवकाशको मुखमा अनुभवी चिकित्सक, डब्लूएचओको चेतावनी

khanepani

काठमाडौँ । पछिल्लो दुई दशकमा विश्वभर स्वास्थ्यकर्मीको संख्या उल्लेख्य रूपमा वृद्धि भए पनि नागरिकको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित हुन नसकेको पाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय स्वास्थ्य जनशक्ति लेखा : स्वास्थ्य जनशक्तिको स्तर र प्रवृत्ति २०२६’ प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा चरम भौगोलिक असमानता र जनशक्तिको बढ्दो उमेर मुख्य चुनौतीका रूपमा देखा परेको औँल्याएको हो।

प्रतिवेदनअनुसार विश्वभर स्वास्थ्य तथा हेरचाह क्षेत्रमा कार्यरत जनशक्तिको संख्या ७ करोड नाघेको छ। सन् २००६ मा प्रति १० हजार जनसंख्यामा औसत ४४.८ जना स्वास्थ्यकर्मी रहेकामा सन् २०२५ सम्म आइपुग्दा यो संख्या ५२ प्रतिशतले बढेर ६७.९ पुगेको छ। तर, जनशक्तिको यो वृद्धि समानुपातिक छैन। युरोपेली क्षेत्रमा चिकित्सकको संख्या अफ्रिकी क्षेत्रको तुलनामा १३ गुणा र नर्स तथा प्रसूतिकर्मीको संख्या करिब ६ गुणा बढी छ। यसले गरिब र विकासोन्मुख मुलुकका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप बढाउनुका साथै ग्रामीण क्षेत्रमा सेवा प्रवाह थप कमजोर बनाएको छ।

त्यसैगरी, प्रतिवेदनले स्वास्थ्यकर्मीको बढ्दो उमेरलाई अर्को गम्भीर संकटका रूपमा चित्रित गरेको छ। विश्वभरका करिब २५ प्रतिशत चिकित्सक ५५ वर्षभन्दा माथिका छन् भने उच्च आय भएका मुलुकमा यो दर ३३ प्रतिशतभन्दा बढी छ। वृद्ध जनसंख्यासँगै दीर्घकालीन रोगको भार बढिरहेको वर्तमान समयमा ठूलो संख्याका अनुभवी चिकित्सकहरू अवकाश नजिक पुग्नुले स्वास्थ्य प्रणालीमा ठूलो रिक्तता निम्त्याउने जोखिम छ।

हालकै प्रवृत्ति कायम रहे सन् २०३० सम्ममा विश्वभर करिब १ करोड ११ लाख स्वास्थ्यकर्मीको अभाव हुने डब्लूएचओको प्रक्षेपण छ। कम्तीमा ६७ देशले आधारभूत स्वास्थ्य सेवा दिन आवश्यक जनशक्ति जुटाउनै नसक्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ। संगठनले केवल भौतिक संरचना र उपकरण थपेर मात्र स्वास्थ्य सेवा सुदृढ नहुने भन्दै जनशक्तिको गुणस्तरीय तालिम, रोजगारी, न्यायोचित वितरण र सुरक्षित कार्यवातावरणमा लगानी बढाउन विश्व समुदायसँग आग्रह गरेको छ।

ranechhap